दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न थप ५ दिनको म्याद थप्न अनुमति

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न थप ५ दिनको म्याद थप्न अनुमति


काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं थप पाँच दिन हिरासतमै रहने भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्यामबिहारी मौरेको इजलासले प्रसाईलाई हिरासतमा राख्न दोस्रो पटक पाँच दिनको अनुमति दिएको हो ।

आइतबार विद्युतीय अपराधको कसुरमा भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंलाई अदालतले पहिलो पटक तीन दिन हिरासतमा राख्नका लागि अनुमति दिएको थियो । उक्त म्याद मंगलबार सकिएपछि बुधबार प्रहरीले थप सात दिनको म्याद माग्दै अदालत लगेको थियो । तर अदालतले पाँच दिन मात्र म्याद थपेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी एक नेतृले दिएको जाहेरीका आधारमा प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेर अनुसन्धानन गरिरहेको छ । आइतबार पक्राउ परेपछि वीर अस्पतालमा बसेका प्रसाईंलाई मंगलबारदेखि जिल्ला सरकारी वकिल कार्यालयमा लगेर दुई घण्टा बयान लिइएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई प्रहरी बृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।