गोर्खा मिडियाबारे पूरक अनुसन्धान गर्नेगरी सहारा सहकारीको मुद्दा, रकम विदेशी पाहुनाको सत्कारमा खर्च

गोर्खा मिडियाबारे पूरक अनुसन्धान गर्नेगरी सहारा सहकारीको मुद्दा, रकम विदेशी पाहुनाको सत्कारमा खर्च


चितवनको सहारा सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया प्रालिमा गएको रकमबारे पूरक अनुसन्धान गर्ने बाटो खुल्ला राखेर अदालतमा अभियोग पत्र दायर भएको छ।

प्रहरीको अनुसन्धानमा ठगीको रकम जीबी राई, पूर्वगृहमन्त्री रवि लामिछाने र छविलाल जोशी सञ्चालक भएको गोर्खा मिडियामा पैसा गएको देखिएको छ।

प्रतिवेदनमा भनिएको छ,’गोर्खा मिडियाको ग्लोबल आइएमई बैंकको खातामा जम्मा भएको रकममध्ये रु ४७ करोड बराबरको कारोबार के कसरी को-कोसँग भएको हो सो को विवरण माग गरिएकोमा प्राप्त नहुँदै अनुसन्धान प्रतिवेदन प्राप्त भएकोले सो कम्पनीहरूको वर्तमान अवस्था, पदाधिकारी, सञ्चालक समितिलगायतका बारेमा थप अनुसन्धान गर्नुपर्ने देखिन आयो।’

मुद्दाको हदम्यादका कारण पूरक अनुसन्धानको बाटो खुल्ला राखेर अभियोग पत्र अघि बढाइएको हो। कम्पनी र पदाधिकारीहरूका सम्बन्धमा निर्णयमा पुग्न सकिने अवस्था तत्काल नरहेकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम पूरक अभियोग पेस गर्नेगरी प्रक्रिया अघि बढाइएको हो।

संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियामा सहकारी ठगीबाट ६५ करोड रुपैयाँ गएको देखाएको छ। त्यसैको आधारमा गोर्खा मिडियाका सञ्चालकहरूलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो।

गोरखा मिडिया नेटवर्कमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखरा, सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवल, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था काठमाडौं, सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था चितवन र सानोपाइला बचत तथा ऋण सहकारी संस्था वीरगंजमा बचतकर्ताले राखेको रकम प्रवाह भएको थियो। गोर्खा मिडियाले १० करोड मात्र आम्दानी गरेको देखिन्छ। सहकारीको रकम गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईले ल्याएको देखिन्छ।

सूर्यदर्शन सहकारीको भने कास्की प्रहरीले पूरक अनुसन्धान गरिरहेको छ। त्यसैको क्रममा गोर्खा मिडियाका सञ्चालक पूर्वडिआइजी छविलाल जोशीलाई आइतबार पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। प्रहरीको पक्राउको सूचीमा पूर्वगृहमन्त्री रवि लामिछाने समेत छन्। तर उनलाई तत्कालै पक्राउ गर्ने वा जोशीको बयानलाई पनि आधार बनाएर हेर्ने भन्नेमा प्रहरी अलमलमा छ।

सहारा सहकारीको पनि सूर्यदर्शनको झैं पूरक अनुसन्धान हुने देखिएको छ। मंगलबार जिल्ला अदालत चितवनमा दर्ता भएको मुद्दा साढे १७ करोडको बिगो दाबी गरिएको छ। जसमा फरार रहेका जीबी राई मुख्य देखिएका छन्। अदालतमा दर्ता भएको अभियोग पत्रमा १७ जनालाई प्रतिवादी बनाइएको छ। सूर्यदर्शन सहकारीको अनुसन्धानमा समातिएका कुमार रम्तेल पनि प्रतिवादी छन्। उनी बाहेक १६ जना फरार प्रतिवादी बनाइएको छ।

रम्तेलले बयानमा आफ्नो खातामा सहकारीबाट आएको रकम जीबी राइको निर्देशनमा नै आएको बताएका छन्। यसरी आएको रकम जीबीको विदेशी पाहुना सत्कार र अन्य प्रयोजनको लागि खर्च गर्ने बताएका छन्। २०७४ जेठ १० गतेदेखि सहकारीको व्यवस्थापकमा काम गर्दै आएको बताएका छन्।