‘एलडिसी’लाई सहयोग बढाउन जी-२० राष्ट्रहरूलाई परराष्ट्रमन्त्रीको आग्रह

‘एलडिसी’लाई सहयोग बढाउन जी-२० राष्ट्रहरूलाई परराष्ट्रमन्त्रीको आग्रह


काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी-२० देशहरुलाई आग्रह गरेकी छन् ।

संयुक्त राष्ट्रसंघ ७९औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेकी जी-२० का विदेशमन्त्रीहरूको बुधबार भएको बैठकमा एलडिसीको अध्यक्षका हैसियतले उनले अल्पविकसित देशहरुलाई सहयोग गर्न आग्रह गरेकी हुन् ।

पछिल्लो समय विश्वका अतिकम विकसित देशहरु विविध समस्याबाट पिरोलिएका दृष्टान्त प्रस्तुत गर्दै मन्त्री देउवाले कोभिड-१९ महामारी, जलवायु परिवर्तनको असर, भूराजनैतिक तनावका कारण ती देश पीडित भएका बताएको उनको निजी सचिवालयले जनाएको छ ।

“पछिल्लो दुई दशकमा अतिकम विकसित देशहरु चरम गरिबीतर्फ धकेलिएका छन् । एलडिसीहरुमा समावेशी आर्थिक वृद्धि, दिगो विकासका लक्ष्य हासिल गर्न तथा स्वास्थ्य सुरक्षालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन, ‘डिजिटल डिभाइड’कम गर्न र हामीले सामना गरिरहेका बहुआयामिक समस्या घटाउन जि-२० को सहयोग महत्त्वपूर्ण हुनेछ”, परराष्ट्रमन्त्रीलाई उद्धृत गर्दै उनको निजी सचिवालयले जनाएको छ ।

जी-२० को अध्यक्ष ब्राजिलले सामाजिक समावेशीकरण, गरिबी निवारण र दिगो विकासमा केन्द्रित रहेर बैठकको आयोजना गरेकामा परराष्ट्रमन्त्रीले धन्यवाद ज्ञापन गरिन् । ब्राजिलले भोकमरी र गरिबी घटाउन विश्वव्यापी अभियान सुरु गर्न लागेकामा त्यसको उनले स्वागत गरिन् ।

जी-२० मा एलडिसीका तर्फबाट प्रतिनिधित्व गर्ने औपचारिक संयन्त्र निर्माणको आग्रह परराष्ट्रमन्त्रीले गरिन् । उनले हाल एलडिसीमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्यालाई कम गर्न जी-२० कै नेतृत्वमा ‘क्लाइमेट चेञ्ज फण्ड’ स्थापना गर्न, एलडिसीका उत्पादनलाई कोटा निर्धारण गरी भन्सार छुटको व्यवस्थाका साथै ऋण मिनाहाका कार्यक्रम ल्याउन आग्रह गरिन् ।