चाडपर्व लक्षित विशेष अनुगमन: ५० वटा टोली परिचालन

चाडपर्व लक्षित विशेष अनुगमन: ५० वटा टोली परिचालन


फाइल फोटो

सरकारले चाडपर्वको समयमा उपभोक्तालाई ठगिन नदिन चाडपर्व लक्षित झण्डै ५० वटा अनुगमन टोली बजारमा परिचालन गरेको छ ।

चाडपर्वको समयमा अत्याधिक भिडभाड हुन्छ । यस्तो बेलामा विभिन्न वस्तुको मूल्य र गुणस्तरमा उपभोक्ता ठगिने अवस्था पनि अत्याधिक हुने भएकाले बर्षेनी सरकारले दसैंदेखि तिहारसम्मको अवधिमा विशेष अनुगमन टोली बजारमा परिचालन गर्दैआएको छ ।

अन्य बेलामा खासै ध्यान नदिने अनुगमनकारी निकायहरु यो वेला सक्रियतापूर्वक संयुक्त रुपमा र छुट्टाछुट्टै बजार अनुगमन गर्दैआएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधी व्यवस्था विभाग, पशु सेवा विभाग, कृषि विभाग, काठमाडौं महानगरपालिका, गुणस्तर तथा नापतौल विभाग, नेपाल आयल निगम, यातायात व्यवस्था विभागलगायतले चाडवाडको समयमा नियमित वाहेक विशेष बजार अनुगमन गर्दै आएका छन्।

यसै क्रममा यो बर्ष बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभर गरी १८ वटा अनुगमन टोली परिचालन गरेको छ । विभागका सूचना अधिकारी डिकबहादुर कार्कीका अनुसार राजधानी केन्द्रित १२ वटा अनुगमन टोली परिचालन गरिएको छ भने विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधी व्यवस्था विभाग, नेपाल आयल निगम, पशु सेवा विभाग, कृषि विभाग, गुणस्तर तथा नापतौल विभाग, यातायात व्यवस्था विभागलगायतको सहकार्यमा संयुक्त बजार अनुगमन टोली पनि उपत्यकामा परिचालन गरेको छ ।

यस्तै विभागले बिराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढीस्थित बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयबाट पनि अनुगमन टोली परिचालन गरिएको सूचना अधिकारी कार्कीले जानकारी दिए ।

बजार अनुगमनकै क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि राजधानीसहित जिल्ला तहसम्ममा ४३ वटा अनुगमन टोली परिचालन गरेको छ ।

विभागमा महानिर्देशक संजिवकुमार कर्णका अनुसार उपत्यका केन्द्रित हुने गरी विभागबाट २ वटा विशेष टोली, १ देखि ४ वटा जिल्ला कार्यक्षेत्र भएको २२ वटा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले २२ वटा टोली, ७ प्रदेशमा रहेको प्रदेश स्तरीय खाद्य प्रविधि तथा गुणस्तर निर्धारण कार्यालयले ७ वटा र १२ वटा सीमा नाका जिल्लामा रहेको खाद्य आयात निर्यात गुण प्रमाणिकरण कार्यालयले १२ वटा अनुगमन टोली चाडवाडलाई लक्षित गरि परिचालन गरेका छन् ।

यस्ता अनुगमन टोलीहरुले लत्ताकपडा, जुत्ता, खाद्यान्न, पेयजन्य, खानेतेल, दूध, मिठाई, माछा, मासु, खानेपानी, पेट्रोल पम्प, गुणस्तरसम्बन्धी, म्याद नाघेको, तोकिएको मूल्यभन्दा बढी मूल्य लिएको, मापदण्डविपरित उत्पादन, अनुमतिवेगर आयात, नापतौल, औषधीको गुणस्तर र मूल्य, निर्धारित भाडादरभन्दा बढी भाडा लगायतको बिषयमा अनुगमन गर्ने जिम्मेवारी सुम्पिएको छ ।