ओभर फ्लो भयो कुलेखानी, गेट खोल्ने तयारी

ओभर फ्लो भयो कुलेखानी, गेट खोल्ने तयारी


हेटौँडा । कुलेखानी जलशयमा जल सतह भरिएर ओभर फ्लो सुरु भएको छ । शनिबार बिहान ४:५० बजेको समयबाट कुलेखानी जलाशय ओभर फ्लो भएको हो ।

हाल कुलेखानी जलाशयको क्षमता भन्दा बढी पानी संकलन भएको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

उनका अनुसार कुलेखानीमा हाल १ हजार ५३०.२८ मिटर पानीको सतह मापन गरिएको छ । कुलेखानीमा प्रतिघण्टा ३७ मिटर पानी संकलन भइरहेको उनको भनाइ छ ।

वर्षा भइरहेकाले कुलेखानीमा थप पानी संकलन गर्ने अवस्था नरहेको उनले बताए । ड्यामको सुरक्षाका लागि विद्युत उत्पादन नियमित भइरहेको भट्टले बताए । कुलेखानी भरिएपछि ड्यामका २ वटा गेट खोल्ने तयारी गरिएको उनले बताए ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलवालले कुलेखानीको गेट खोल्ने तयारी भएकाले नदि तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरे । कुलेखानीको गेट खोल्दा कुलेखानीको पानी सिस्नेरी खोला हुँदै बागमती नदिमा मिसिन पुग्छ ।

उनले इन्द्रसरोवर, भिमफेदी, बागमती गाउँपालिका सहित सिन्धुलीको हरिहरपुरगढी, रौतहटको नुनथर क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरे । जोखिम क्षेत्रमा सुरक्षा निकायलाई हाइ अलर्ट रहन निर्देशन गरिएको उनको भनाइ छ ।