अविरल वर्षाले काठमाडौँका विभिन्न क्षेत्र डुबानमा, उद्धार कार्य जारी

अविरल वर्षाले काठमाडौँका विभिन्न क्षेत्र डुबानमा, उद्धार कार्य जारी


काठमाडौँ । पछिल्ला दुई दिनदेखि जारी अविरल वर्षाका कारण काठमाडौँ जिल्लाका विभिन्न स्थानहरू जलमग्न भएका छन्। काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ, चन्द्रागिरि लगायतका स्थानहरूमा जलमग्न हुने अवस्था सिर्जना भएको छ भने बस्तीहरूमा पानी पसेपछि सर्वसाधारणलाई उद्धार गर्न जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरू सक्रिय रहेका छन्।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार बाढी तथा डुबान प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र रूपमा भइरहेको छ। ‘प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाइएको छ। केही स्थानमा पानीको सतह अझै बढ्ने सम्भावना भएकाले हामी उच्च सतर्कतामा छौँ। सम्पूर्ण प्रभावितलाई सुरक्षित स्थानमा सार्ने कार्य जारी छ,’ आचार्यले भने।

प्रभावित क्षेत्रमा पानीको सतह बढेसँगै काठमाडौँ उपत्यकाको जीवन कष्टकर बनेको छ। डुबान प्रभावित क्षेत्रका नागरिकहरूलाई सुरक्षित स्थानमा सार्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोलीहरू खटिएका छन्। उद्धारका क्रममा केही नागरिकको उद्धार गरिएको र तीव्र बाढीका कारण थप चुनौती पनि आइरहेको उद्धार कार्यमा संलग्न अधिकारीहरूले प्रशासनलाई जानकारी दिएका छन् ।

सरकारले सर्वसाधारणलाई घरभित्रै बस्न र सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। साथै, प्रमुख जिल्ला अधिकारी आचार्यले आवागमनमा रोक लगाउन र जोखिमपूर्ण स्थानमा नजान सबैलाई अनुरोध गर्दै विपद्जन्य घटना घटेमा सम्पर्क गर्न भनेका छन् छन्। ‘विपद्‌जन्य घटनाको जोखिम भएका क्षेत्रमा तत्काल सम्पर्क गर्नुहोस्। हाम्रो उद्धार टोली आवश्यक सहयोगका लागि खटिइरहेको छ,’ उनले बताए।

उद्धार कार्य जारी रहेकाले कुनै पनि विपद्‌जन्य घटना घटेमा तुरुन्तै नजिकको जिल्ला प्रहरी कार्यालय अथवा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको सम्पर्क नं. ९८५१३३८३२२/९८५११००५५९ मा खबर गर्नसमेत आग्रह गरिएको छ।

हालसम्मको उद्धार कार्यका क्रममा केही स्थानमा घरमा फसेका बालबालिका र वृद्ध वृद्धाहरूलाई सुरक्षित स्थानमा सारिएको छ। प्रभावित क्षेत्रका सडकहरूमा यातायात प्रभावित हुँदा उद्धार टोलीले पैदल हिँडेर जोखिममा परेका नागरिकहरूको उद्धार गरिरहेको छ। केही स्थानमा स्थानीय युवाहरूले समेत उद्धारमा सहयोग पुर्‍याएका छन्।

सरकारले सम्भावित थप बाढी र पहिरोको जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन, जोखिमपूर्ण स्थानबाट सुरक्षित स्थानतर्फ सर्न र सचेत रहन आग्रह गरेको छ।