प्रिमियरसिप : लिभरपुलको अग्रता, पालमरको चार गोलमा चेल्सीको जित

प्रिमियरसिप : लिभरपुलको अग्रता, पालमरको चार गोलमा चेल्सीको जित


काठमाडौं– कोल पालमर प्रिमियरसिपको पहिलो हाफमा नै चार गोल गर्ने कीर्तिमान कायम गरेको खेलमा चेल्सीले ब्रिङटनलाई ४–२ गोलले हराएको छ ।

पालमरको एक प्रहार बारमा लागेको थियो भने अर्को एक प्रहार रेफ्रिले अमान्य घोषित गरेका थिए । उनले १९ मिनेट भन्दा कम समयको अन्तरमा चार गोल गरेका हुन् ।

उनले खेलको २१औँ मिनेटमा पहिलो गोल गरेका थिए । यस्तै, २८औँ मिनेटमा जोर्डन सान्चोलाई लडाएपछि पालमरले पेनाल्टीमा अर्को गोल गरेका थिए । ३१औँ मिनेटमा २५ यार्ड टाढाबाट फ्रिकिकमा गोल गर्दै उनले अर्को सफलता दिलाए ।

सान्चोको पासमा उनले ४१औँ मिनेटमा अर्को गोल गरे । खेलको सातौँ मिनेटमा जियोर्जिनो रुटले एकल प्रयासमा गोल गर्दै ब्रिङटनलाई अग्रता दिलाएका थिए । यसै गरी ३४औँ मिनेटमा बालेबाले अर्को गोल गरे ।

यता, आर्सनलले इन्जुरी समयमा २ गोल गर्दै लेस्टर सिटीलाई ४–२ गोलले हरायो । लेस्टर सिटीका विलफ्रेड निडीले ९४औँ मिनेटमा आत्मघाती गोल गरे भने ९९औँ मिनेटमा काइ हार्भट्जले अर्को गोल गरे ।

यस अघि पहिलो हाफमा नै २ गोलले पछि परेको लेस्टर दोस्रो हाफमा कमब्याक गर्दै बराबरीको नजिक पुगेको थियो । पहिलो हाफमा गाब्रियल मार्टिनेलीले पहिलो गोल गरे भने उनकै पासमा लेन्ड्रो ट्रोसार्डले दोस्रो गोलको अग्रता दिलाए । दोस्रो हाफमा लेस्टर सिटीका लागि जेम्स जस्टिनले दुवै गोल गरे ।

 

शनिवारको खेल सकिँदा लिभरपुलले अग्रता कायम गरेको छ । ६ खेल खेलेको लिभरपुलको १५ तथा म्यानचेस्टर सिटी र आर्सनलको समान १४ अङ्क छ । यसै गरी चेल्सीको १३ अङ्क छ ।

पाँचौँ चरण सकिँदा अग्रता कायम गरेको म्यानचेस्टर सिटी भने छैटौँ चरणमा न्युक्यासलसँगको खेलमा १–१ गोलको बराबरीमा रोकियो । सिटीका रक्षक जास्को गार्भाडिलले ३५औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । ५८औँ मिनेटमा एडरसनले फल गरे पछि पाएको पेनाल्टीलाई गोर्डानले उपयोग गरेपछि न्युक्यासलले बराबरी गरेको हो ।

लिभरपुललाई तालिकाको शीर्ष स्थानमा लैजाने क्रममा मोहम्मद सलाहाले ६१औँ मिनेटमा पेनाल्टी मार्फत विजयी गोल गरे । सोही गोलले लिभरपुलले उल्भ्ससँगको अवे खेलमा २–१ को जीत हात पारेको हो ।

यसअघि इब्राहिमा कोनाटेले यस सिजनमा पहिलो प्रिमियरसिप गोल गरेपछि लिभरपुलले पहिलो हाफमा इन्जुरी समयमा गोल गरेको थियो । ५६औँ मिनेटमा आर्सनलका रायट आयाट नाउरीले गोल गरे ।

शनिवार भएको अन्य खेलमा ब्रेन्टफोर्ड र वेस्टह्याबीच १–१ गोलको बराबरी भयो भने एभर्टनले क्रिस्टल प्यालेसलाई २–१ ले हरायो । फुल्हमले नटिङघम फरेस्टसँगको खेलमा १–० को जित हात पार्न सफल भयो ।