दशैंको लागी काठमाडौंबाट गाउँ हिडेका महिला र बालबालिका बाटोमा नै परे बिरामी

दशैंको लागी काठमाडौंबाट गाउँ हिडेका महिला र बालबालिका बाटोमा नै परे बिरामी


काठमाडौं । हिजोको रोशी खेलाको बाढीले सडक र पुलहरू भत्काएपछि बिपी राजमार्गमा हजारौँ यात्रु अलपत्र परेका छन् । दशैंको बेला काठमाडौंबाट गाउँतर्फ गएका र गाउँबाट काठमाडौं आएका दुवै थरी यात्रु रोशीको वडा नम्बर ६ डम्फुपार्क क्षेत्रमा अलपत्र परेको रामेछापको लिखुतामाकोशी गाउँपालिका १ का वडाध्यक्ष प्रदीप तामाङले जानकारी दिए । उनले आफू पनि डम्फुपार्क क्षेत्रमै २ दिनदेखि अलपत्र रहेको बताए ।

उनका अनुसार मूलकोट, नेपालथोक, मंगलटार लगायत रोशी क्षेत्रमा २ हजारभन्दा धेरै यात्रुहरू उद्धारको पर्खाइमा छन् ।विभिन्न बाटोबाट पैदल हिँड्न खोज्दा पहिरो र ढुंगा लागेर केही घाइते भएका छन् । डम्फुपार्क क्षेत्रमा २ दिनदेखि सुरक्षाकर्मी पुग्न सकेका छैनन् । अत्यावश्यक खानेकुरा पिउने पानीको अभावमा बालबालिका र महिलाहरू बिरामी परेका छन् । र केहीको अवस्था गम्भीर भइसकेको तर उपचार गराउन लैजान ठाउँ नभएका वडाध्यक्ष तामाङले बताए ।उनले हेलिकप्टर तथा अत्यावश्यक उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् । भकुण्डेबेसी भन्दा उता सबै सडक सञ्चालनमा छैनन् ।

आपत्कालीन उद्धारको आवश्यकता रहेको स्थानीयले बताएका छन् । विभिन्न ठाउँमा अलपत्र रहेका यात्रुको उद्धारका लागि शनिवारबाट नै हेलिकप्टर लैजाने तयारी अवस्थामा रहे पनि मौसमले साथ नदिएकाले सम्भव हुन सकेन । आज पनि औषधि र अन्य अत्यावश्यक सामग्रीसहित हेलिकप्टर तयारी अवस्थामा रहेको गृह मन्त्रालयले जनाएको छ । मनलयका अनुसार मौसमका कारण रोकिएका हेलिकप्टर तत्काल पठाउने तयारी भइरहेको छ ।