बाढी पहिरोका कारण १६ वटाभन्दा बढी जलविद्युत् आयोजनामा क्षति

बाढी पहिरोका कारण १६ वटाभन्दा बढी जलविद्युत् आयोजनामा क्षति


काठमाडौं- अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको छ। जलविद्युत आयोजनामा सञ्चारसम्पर्क विच्छेद भएकाले सबै आयोजनाको विवरणसमेत प्राप्त हुन सकेको छैन।

दुई दिनदेखि देशभर परेको वर्षाले चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, २२ मेगावाटको माण्डु जलविद्युत् आयोजना, २२ दशमलव एक मेगावाटको हेवाखोला जलविद्युत् आयोजनामा हेडबक्स र पावरहाउसमा क्षति पुगेको छ।

यस्तै रसुवामा निर्माणाधीन दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली दुई जलविद्युत् आयोजनाको भौतिक संरचना र उपकरणमा क्षति पुगेको छ। अपर तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत पाँचजना सम्पर्कविहीन छन्।

यस्तै खिम्ती लामोसाँघु प्रसारण लाइनमा क्षति पुगेको छ। उक्त प्रसारण लाइनको ७ नम्बर टावर बाढीले बगाउँदा काठमाडौं आउने विद्युत् लाइन अवरुद्ध भएको छ।

images
यसैगरी दमकदेखि गोदकसम्मको प्रसारण लाइनमा समेत क्षति पुगेको छ। उक्त प्रसारण लाइनअन्तर्गतको ५१ नम्बर टावर बाढीले बगाएको हो।

बाढीले सोलु करिडोर, कोशी कोरिडोरको प्रसारण लाइनमा समेत क्षति पुगेको छ। नेपालमा उत्पादित विद्युतगृहहरूमा बाढीपहिरोले क्षति पुगेपछि भारतबाट थप तीन सय मेगावाट विद्युत् आयात गरिएको प्राधिकरणले जनाएको छ।

अधिकांश विद्युत् कम्पनीहरूले बाढी बढ्न थालेपछि विद्युतगृहमा कार्यरत कर्मचारीलाई सुरक्षित स्थानमा सारेका छन्।

नेपालमा तीन हजार मेगावाट हाराहारीमा विद्युत् उत्पादन हुँदै आएकामा दुई दिनको बाढीपहिराले क्षति पुगेपछि अहिले १ हजार ३ सय मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको विद्युत् प्राधिकरणले जनाएको छ।

कुन-कुन आयोजनामा क्षति?

१) मान्डू हाइड्रोपावरद्वारा प्रवर्द्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत आयोजना, मकवानपुर (पावर हाउस पूणर्रुपमा डुबेको)

२) माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना, पाँचथर (गत वर्षको बाढीबाट पनि प्रभावित, पावर हाउस डुबानमा परेको)

३) पाँचथर पावरद्वारा प्रवर्द्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजा, पाँचथर (गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुन:निर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त)

४) साहस ऊर्जाद्वारा प्रवर्द्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजना, सोलुखुम्बु (हेडवक्र्समा क्षति, उत्पादन बन्द)

५) सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजना, इलाम (बाँध र टेलरेसमा क्षति, उत्पादन बन्द)

६) सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजना, इलाम (बाँध र प्रसारणलाइनमा क्षति)

७) फेमे खोला जलविद्युत आयोजना १ मेगावाट, पाँचथर, (बाँध र विद्युतगृह पूणर्रुपमा क्षति)

८) सिउरीखोला जलविद्युत आयोजना ५ मेगावाट, लमजुङ, (टेलरेस, इन्टेक र टनेलमा क्षति)

९) सुपरन्यादी जलविद्युत आयोजना, ४० मेगावाट, लामुजुङ, (पहुँचमार्गमा क्षति, प्रोटेक्सन वालमा क्षति)

१०) इलेप खोला तातोपानी जलविद्युत आयोजना, २५ मेगावाट, धादीङ, (पहुँचमार्गमा ठूलो क्षति)

११) माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना २१६ मेगावाट, नुवाकोट, (क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको)

१२) हेवाखोला जलविद्युत आयोजना, १० मेगावाट, पाँचथर (क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको)

१३) सभाखोला बी जलविद्युत आयोजना, १५.१ मेगावाट, पाँचथर, (पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको)

१४) सभाखोला सी जलविद्युत आयोजना, ६.३ मेगावाट, पाँचथर, (पहुँचमार्गमा क्षति)

१५) लान्द्रुक मोदी जलविद्युत आयोजना, ८६.५९ मेगावाट, कास्की, (पहुँचमार्गमा क्षति)

१६) सुपर त्रिशूली जलविद्युत आयोजना, १०० मेगावाट, नुवाकोट (२ वटा स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको, बेलीब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएको)