क्यानडामा नेपालको पहिलो जित

क्यानडामा नेपालको पहिलो जित


काठमाडौं– क्यानडामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमा जित हासिल गरेको छ । जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई हराउँदै आफ्नो हारको यात्रा रोकेको हो ।

लगातार ११ खेलमा जित निकाल्न नसकेको नेपालले १२औं खेलमा आएर हारको शृङ्खलामा पूर्णविराम लगायो । नेपालले सोमवार विहान सकिएको खेलमा ओमानमाथि ३७ रनको जित हात पारेको हो । नेपालले जितका लागि दिएको १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १ सय ३९ रन बनाउँदै अल आउट भयो ।

ओमानका लागि सोयब खानले ३९ बलमा ४ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४५ तथा रफिउल्लाहले १२ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३३ रन जोडे । प्रतिक अथाभालेले १४ बलमा १५, खालिद कैलले ११ रन जोडे ।

नेपालका लागि करन केसीले ३, कुशल भुर्तेल र गुलशन झाले समान २ तथा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र रिजन ढकालले समान १ विकेट लिए ।

त्यसअघि क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो ।

नेपालका लागि गुलशन झाले १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक नट आउट ४० रन बनाए । छैटौं विकेटका लागि गुलशन र कुशल भुर्तेलले ६१ रनको साझेदारी गरे । कुशलले १७ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाए ।

कुशल मल्लले २६ बलमा २ चौका र २ छक्काको सहयोगमा ३० रन बनाए । ओपनरद्वय अनिल शाह र आसिफ शेखले समान २७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ५ बलमा १ चौका र २ छक्काको सहयोगमा नट आउट १८ रन बनाए ।

ओमानका लागि कप्तान अकिब इल्यासले ३, जिशान मक्सुद र फैयज बटले समान १ विकेट लिए । सिरिजको पहिलो खेलमा शनिवार नेपाल घरेलु टोलीसँग १४ रनले पराजित भएको थियो ।

नेपालले तेस्रो खेलमा मंगलवार क्यानडासँग खेल्दा चौथो खेलमा बुधवार फेरि ओमानको सामना गर्नेछ ।