विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : गृह मन्त्री लेखक

विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : गृह मन्त्री लेखक


काठमाडौँ । गृह मन्त्री रमेश लेखकले बाढीपहिरोमा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिँदै विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारेका छन् ।

प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले विपद्मा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको बताए ।

उनले घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको जानकारी दिए। “खोज तथा उद्धार जारी छ । राहत सामग्री वितरणको कार्य पनि जारी छ । सरकारी अस्पतालमा घाइतेको निःशुल्क उपचार भइरहेको छ । राहत सामग्री परिचालन र पुनः स्थापनालाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति सक्रियतापूर्वक लागेका छन्” उनले भने ।

बैठकमा गृह मन्त्री लेखकले बाढीपहिरामा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र स्वयंसेवकले विपद्मा फसेका चार हजार २२ जनाको उद्धार गरेका उनले बताए ।

पचास वर्षपछि भारी वर्षा भएको जानकारी दिँदै उनले काठमाडौँ उपत्यका र बागमती प्रदेश बढी प्रभावित भएका बताए । उद्धारमा नेपाली सेनाका तीन हजार ९०६, नेपाल प्रहरीका १४ हजार ८०२ सशस्त्र प्रहरीका १२ हजार २३ जनशक्ति विपद्पछि खोज र उद्धारमा खटिएका उनले जानकारी दिए ।