फ्रेन्चाइज लिग भलिबल : कर्णालीको जीत

फ्रेन्चाइज लिग भलिबल : कर्णालीको जीत


काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेष्ट महिला भलिबल लिग प्रतियोगिता अन्तर्गत आज भएको खेलमा कर्णाली यसभिस विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा आज भएको खेलमा कर्णालीले गण्डकी थन्डर्सलाई ३-२ को सेटमा पराजित गर्दै विजयी भएको हो ।

खेलमा कर्णालीले पहिलो सेट २५-१५ ले आफ्नो पक्षमा पार्‍यो । त्यस्तै खेलको दोस्रो र तेस्रो सेट भने गण्डकीले आफ्नो पक्षमा पार्‍यो । गण्डकीले खेलको दोस्रो सेट २५-२२ र २५-१७ ले आफ्नो पक्षमा पार्‍यो। त्यसपछिको दुई सेटमा पुनरागमन गर्दै कर्णालीले प्रतियोगितामा जित हासिल गर्‍यो । कर्णाली खेलको चौथो सेट २५-१९ र पाँचौँ तथा अन्तिम निर्णायक सेट १५-१२ ले आफ्नो पक्षमा पार्दै जित हासिल गर्‍यो ।

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहासमै पहिलो आयोजना भएको उक्त प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा काठमाडौँ स्पाइकर्ससँगै ललितपुर क्विन्स, मधेस युनाइटेड, चितवन शक्ति, गण्डकी थन्डर्स र टिम कर्णाली यसभिस रहेका छन् । हरेक टोलीमा विदेशी खेलाडीको सहभागिता रहेको छ ।

सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । फाइनल खेल यही असोज १९ गते हुनेछ ।