गृह मन्त्रालयले खटायो बाढी प्रभावित ८ जिल्लामा सहसचिव नेतृत्वको टोली

गृह मन्त्रालयले खटायो बाढी प्रभावित ८ जिल्लामा सहसचिव नेतृत्वको टोली


काठमाडौँ । बाढी, पहिरो र डुबानका कारण बढी प्रभावित आठ जिल्लामा सहसचिव नेतृत्वमा टोली खटाइएको छ । गृह मन्त्रालयले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा सहसचिव नेतृत्वको टोली खटाएको हो ।

काठमाडौँमा गोविन्दप्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायणप्रसाद अर्याल, काभ्रेपलाञ्चोकमा वासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई खटाइएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले प्रशासनलाई जानकारी दिए ।

कार्यदललाई बाढी-पहिरोबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने, मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कामबारे सुझाव दिने जिम्मेवारी तोकिएको छ । उक्त कार्यदललाई आगामी असोज २१ गतेसम्म गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्न समयावधि दिइएको तिवारीले बताए ।