पुनः वर्षासँगै सतर्क रहन प्रशासनको माइकिङ

पुनः वर्षासँगै सतर्क रहन प्रशासनको माइकिङ


काठमाडौँ। पुनः वर्षा सुरु भएसँगै राजधानीका बासिन्दालाई सुरक्षित रहन सचेत गराउँदै प्रशासनले माइकिङ गर्दै सर्तक रहन भनेको छ । खोला किनार र बस्ती छेउछाउका क्षेत्रहरूमा सशस्त्र प्रहरी बलका अधिकारीहरू पुगेर वर्षा भइरहेको बाढी आउन सक्ने चेतावनी दिँदै नागरिकलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिरहेका छन्। यससँगै, सवारी साधन र अन्य महत्त्वपूर्ण सामानलाई पनि सुरक्षित ठाउँमा राख्न सल्लाह दिइएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यले पुनः वर्षा सुरु हुने जानकारी प्राप्त भए लगत्तै प्रशासनले नागरिकलाई सचेत गराउन माइकिङ गरेर सचेत गरेको बताए। ‘पानीको बहाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखेर हामीले विशेष गरेर खोला छेउका बस्तीहरूमा सचेत गराउने काम गरिरहेका छौँ। बिहानैदेखि बल्खु, कालिमाटी, टेकु जस्ता संवेदनशील क्षेत्रमा माइकिङ गरिएको छ। यसले नागरिकलाई सतर्क रहन मद्दत पुर्‍याएको छ,’ प्रजिअ आचार्यले प्रशासनसँगै भने ।

केही दिनअघि परेको अविरल वर्षा पछि आएको बाढीका कारण यी क्षेत्रमा ठूलो नोक्सान भएको थियो, जसले गर्दा प्रशासन यस पटक अतिरिक्त सतर्कताका साथ अगाडि बढिरहेको छ। प्रमुख जिल्ला अधिकारी आचार्यले अघिल्लो अनुभवलाई मध्यनजर गर्दै यो पटक थप तयारी र सतर्कता अपनाइएको जानकारी दिए।

उनले थपे, ‘हामीले सम्पूर्ण सुरक्षा निकायलाई तयारी अवस्थामा राखेका छौँ। बाढी आउने सम्भावित जोखिम क्षेत्रहरूमा निरन्तर निगरानी गरिरहेका छौँ र सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना समेत बनाएका छौँ’

प्रमुख जिल्ला अधिकारी आचार्यले सर्वसाधारणलाई सतर्क रहन र प्रशासनले दिएको निर्देशन पालन गर्न पुनः आग्रह गर्दै भने, ‘यो हाम्रो सबैको सुरक्षाको सवाल हो, त्यसैले हरेक नागरिकले आफ्नो जिम्मेवारी बहन गर्नु आवश्यक छ। पानीको बहाव बढ्दै जाँदा जोखिम बढ्न सक्छ, त्यसैले हामीले सचेतना अभियानलाई निरन्तरता दिनेछौँ’