डोटीमा भारतबाट चोरी भई नेपाल ल्याएको सुन बरामद, प्रहरीद्वारा धनीलाई हस्तान्तरण

डोटीमा भारतबाट चोरी भई नेपाल ल्याएको सुन बरामद, प्रहरीद्वारा धनीलाई हस्तान्तरण


काठमाडौँ । डोटीमा भारतबाट चोरी भएर नेपाल ल्याएको सुन प्रहरीले बरामद गरी सम्बन्धित सुन धनीलाई फिर्ता गरेको छ ।

भारतको राज स्थान राज्य नागौर किशनगढ जिल्ला परवतसर स्थित एक घरबाट चोरी गरी नेपाल ल्याइएको ४१५ दशमलव ३७ ग्राम सुन जिल्ला प्रहरी कार्यालय डोटीले बिहीबार सुन धनी महेन्द्र सिहलाई हस्तान्तरण गरेको प्रहरीले जनाएको छ ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका-२ का २४ वर्षीय रवि सिंह भनी चिनिने कैलाश ढोलीले गत जेठ १४ गते भारतका महेन्द्र सिंहको घरबाट चोरी गरी ल्याएको उक्त सुन असार २१ गते प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले बताए ।

भारतबाट सुनचाँदी र नगद चोरी गरेर नेपाल आउन लागेका दुई जनालाई भारतको पलियामा पक्राउ गरी उतै मुद्दा चलेको र नेपाल आयका कैलाशलाई अनुसन्धानको दायरामा ल्याउँदा ४१५.३७ ग्राम सुन बरामद भएको प्रहरी उपरीक्षक शर्माले बताए । महेन्द्रको घरमा काम गर्ने कैलाशले घरधनी घुम्न गएको बेला चोरी गरेर भागेका थिए ।

२०७८ माघ २६ गतेको सचिव स्तरको निर्णय र सोही निर्णयको आधारमा गृह मन्त्रालय स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको पत्राचार अनुसार सम्बन्धित व्यक्ति महेन्द्र सिहलाई सुन हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ । यता सुन धनी सिंहले आफ्नो घरबाट डेढ किलो बराबरको सुन चोरी भएको बताएका छन् ।

तर महेन्द्रले भारतमा पक्राउ परेका दुई जनाबाट दुई सय ग्राम र नेपालमा पक्राउ परेका एक जनाबाट ४१५.३७ ग्राम सुन प्राप्त भएको बताए । प्रहरीले सुन जनप्रतिनिधिको रोहोवरमा हस्तान्तरण गरेको थियो ।