ललितपुर । गत साता बागमती नदीमा आएको बाढीबाट ललितपुर महानगरपालिका–१ को वडा कार्यालयमा करिब रु ८० लाख बराबरको क्षति भएको छ ।
ललितपुरको कुपण्डोलस्थित बागमती करिडोरमा रहेको वडा कार्यालयको तल्लो तलामा बाढी पस्दा स्वास्थ्य उपकरण, महत्त्वपूर्ण कागजातलगायत सामग्री नष्ट भएको वडाध्यक्ष निर्मल तण्डुकारले जानकारी दिए ।
बाढीले अल्ट्रासाउन्ड, इसिजी तथा प्रयोगशालामा प्रयोग हुने महत्त्वपूर्ण उपकरण, छ वटा कम्प्युटर र केही औषधिलगायत सामग्रीमा क्षति भएको छ । वडाध्यक्षसहित जनप्रतिनिधि वडा कार्यालयको व्यवस्थापनमा जुटेका छन् ।
कार्यालयको माथिल्लो तलाबाट सेवा प्रवाह गरिरहेको वडाध्यक्ष तण्डुकारले जानकारी दिए । कार्यालयको माथिल्लो तलामा क्षति कम भएकाले महत्त्वपूर्ण सेवा प्रवाह नरोकिएको उनले बताए । बाढीले स्वास्थ्य केन्द्र पूर्णरुपमा क्षति भएपछि आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्न नसकिएको केन्द्रका अहेव नारायण साहले बताए । “स्वास्थ्य केन्द्रका सबै उपकरण र औषधि काम नलाग्ने अवस्थामा छन्”, उनले भने ।
प्रतिक्रिया