म्याग्दी । मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, सिंजा जोङ गुफा, जोमसोम, ढुम्वा ताल, ठिनी, मार्फा, लेतेलगायत पर्यटकीय स्थलमा चहलपहल बढेको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्रमुख प्रमोदराज रेग्मीले केही दिनयता आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटकको आगमन बढेको बताए । “सडक र हवाईमार्ग भएर मुस्ताङ घुम्न आएका आन्तरिक पर्यटकका कारण चहलपहल बढेको छ,” उनले भने, “थोराङ्ला, उपल्लो मुस्ताङ र जोमसोम आसपासका क्षेत्रमा पनि विदेशी पर्यटकको चहलपहल बढेको छ ।”
विसं २०८१ को असोज महिना शुरु भएयता सडक मार्ग भएर २० हजार चार सय ४६ जना पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विशाल अधिकारीले बताए ।
म्याग्दीको सिमानामा रहेको घाँसा स्थित प्रहरी चौकीले मुस्ताङ भित्रने पर्यटकको विवरण सहित तथ्याङ्क राख्दै आएको छ । असोज महिना शुरु भएयता चार हजार ४४ वटा सवारी साधनमा १४ हजार ८५० स्वदेशी र पाँच हजार पाँच सय ९६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् ।
बेनी–जोमसोम सडक प्रयोग गरी गत आव २०८०/०८१ मा तीन लाख १८ हजार आठ सय १४ स्वदेशी पर्यटक सडक मार्ग भएर मुस्ताङ घुम्न आएका थिए । आव २०७९/८० मा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या तीन लाख तीन हजार आठ सय थियो ।
एक्याप जोमसोमको तथ्याङ्क अनुसार चालु आवको साउन र भदौमा सात हजार पाँच सय ९९ पर्यटकले मुस्ताङ घुमेका छन् । गत आवको साउन र भदौमा मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या पाँच हजार एक सय ७५ थियो ।
गत आर्थिक वर्षमा एक लाख २१ हजार तीन सय ५२ विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । आव २०७९/८० मा ७१ हजार सात सय सात र आव २०७८/७९ मा ३८ हजार आठ सय ९६ पर्यटक मुस्ताङ घुम्न आएका एक्यापले जनाएको छ ।
ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् । शरद यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि उपयुक्त मानिन्छ ।
लोमान्थाङका होटल व्यवसायी छेवाङ गुरुङले बर्खायाम सकिन थालेसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढ्न थालेको बताए । “बर्खा सकिन र हिउँद सुरु हुन लागेको यो मौसम हावापानी र वातावरणका हिसाबले पनि मुस्ताङ घुम्न उपयुक्त समय हो”, उनले भने, “अन्य समयमाभन्दा असोज–कात्तिकमा यहाँ धेरै पर्यटकहरू आउने गर्छन् ।”
विदेशीको तुलनामा स्वदेशी पर्यटक बढी छन् । चाडपर्वको लामो बिदा शुरु भएसँगै आमा समूह, वन समूह, क्लब, सहकारी संस्था र शैक्षिक संस्थाबाट पनि समूह बनाएर भ्रमणमा आएका छन् । कागबेनीबाट कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले १० दिनका लागि पाँच सय डलर शुल्क तिर्नुपर्छ ।
गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलकका पर्यटकलाई प्रतिव्यक्ति एक हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति तीन हजार तोकिएको छ ।
प्रतिक्रिया