काठमाडौँ । पद्मकन्या कलेज नेपाली विभाग प्रमुख समेत रहेकी साहित्यकार डा. अम्बिका अर्यालको नवीनतम कृति ‘भावदीप’ मुक्तकसंग्रह बजारमा आएको छ ।
नेपाली समालोचना र आख्यान सिर्जनामा स्थापित स्रष्टा डा. अर्यालको नवीनतम कृति ‘भावदीप’ मुक्तकसंग्रह पद्मकन्या क्याम्पस, डेनिस हलमा एक समारोहबीच बिहीबार लोकार्पण गरिएको थियो ।
नेपाली साहित्यमा नारी सहभागितालाई प्रभावकारी बनाउने उद्देश्यले स्थापित प्रतिष्ठानको आयोजना भएकाले उक्त कार्यक्रमका अध्यक्ष, सञ्चालक एवम् समीक्षक पनि नारी स्रष्टाहरू नै रहेका थिए । समीक्षक द्वयमध्ये मनमाया पोख्रेलले नारी चेतनाका दृष्टिबाट र दिव्येश्वरी जोशीले शिल्प पक्षका आधार लोकार्पित कृतिको समीक्षा गरेका थिए भने डा. शान्तिमाया गिरीले विषयवस्तु र समसायिकताबारे प्रकाश पारेकी थिइन् ।
कृत समीक्षाका अन्तरालमा प्रतिष्ठानका तर्फबाट राधिका गुरागाईँ र रमा के. सी.ले लोकार्पित कृतिका मुक्तक वाचन गरेका थिए भने सहभागिका तर्फबाट साहित्यकार एवम् सञ्चारकर्मी द्वव हेम भण्डारी र भगवती बस्नेत साथै साहित्यकार तथा सङ्गीतकार सन्तोष श्रेष्ठले पनि केही मुक्तक वाचन गरेका थिए । यस्तै वरिष्ठ साहित्यकार पुष्कर लोहनीले शुभकामना मन्तव्य दिएका थिए ।
नेपाली उपन्यासमा नारी चेतना विषयमा विद्यावारिधि गरेकी र नेपाली विभाग, पद्म कन्या बहुमुखी क्याम्पसकी विभागीय प्रमुख डा. अर्यालका यसअघि अविश्रान्त (२०७५) उपन्यासलगायत आधा दर्जन जति समालोचना कृति प्रकाशित छन् । ‘भावदीप’ मुक्तक सङ्ग्रह सङ्गम बुक्स पब्लिकेसनले प्रकाशित गरेको हो ।
प्रतिक्रिया