बिनोद चौधरीले निर्वाचन क्षेत्रमा गरे ट्रमा सेन्टर निर्माणको शुभारम्भ

बिनोद चौधरीले निर्वाचन क्षेत्रमा गरे ट्रमा सेन्टर निर्माणको शुभारम्भ


नवलपरासी । बिनोद चौधरी । नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित सासंद चौधरी नेपालका एक मात्र अर्बपति उद्योगी पनि हुन । उनी नेपाली कांग्रेसबाट संसदीय राजनीतिमा सक्रिय भएयता उनको दैनिकी फेरिएको छ । उद्योग मार्फत देशको अर्थतन्त्र विकासमा महत्वपूर्ण टेवा पुर्याएका चौधरी पछिल्लो समय आफ्नो क्षेत्रको विकासमा पनि लागि परेका छन् । पछिल्लो समय आएको बाढी र पहिरोको कहरबाट आजित नागरिकको घाउमा मल्हम लगाउन पुगेका चौधरीले उनीहरुको उद्धार र राहतमा विशेष काम गर्दै आएका छन् । निर्वाचन क्षेत्रबाट सामाजिक सञ्जाल फेसबुकमा चौधरी लेख्छन, ‘ आज विहान नवलपरासीको बाढी प्रभावित क्षेत्रमा पुगे । बाढीले धानबालीमा क्षती पुगेको छ भने केही घरहरु डुबानमा परेका छन् । तत्काल राहतको व्यवस्था गर्दैछौं भने थप क्षती हुन नदिन आवश्यक तयारीको काम पनि भइरहेको छ। यो क्षेत्रमा वर्षौंदेखि हुने डुबानको दीर्घकालीन समाधानका लागि सरकारलाई हामीले निरन्तर घचघच्याइरहेका छौं ।’ यो मात्र होइन सांसद चौधरीले यो क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधानका लागि पहल गरिरहेको छन्। यसको बारेमा जानकारी दिँदै सांसद चौधरी लेख्छन, ‘ पश्चिम नवलपरासीमा वर्षेनी हुने डुवान र सिचाइँ समस्याको दीर्घकालीन समाधानका बारेमा आज हामीले माननीय उर्जा, सिंचाई तथा जलश्रोत मन्त्री दीपक खड्काज्यूलाई लिखित रुपमै ध्यानाकर्षण पत्र दिएका छौं । हामीले समस्याको उचित समाधानका लागि सरकारले गर्नुपर्ने कामहरुलाई लिपिबद्ध गरेर सरकारलाई बुझाएका छौं । हरेक वर्ष यहाँका जनताले सधैं एउटै समस्या भोग्नुपर्ने र तर त्यसको दीर्घकालीन समाधानतर्फ कसैको ध्यान नजाने जुन विगतको प्रवृत्ति थियो, त्यसलाई अन्त्य गर्दै दीगो समाधानका लागि आवश्यक पहल गर्ने माननीय मन्त्रीज्यूले प्रतिवद्धता जनाउनुभएको छ । म यसका लागि माननीयमन्त्रीज्यूसहित सबैलाई धन्यवाद दिन चाहन्छु । ’
नागरिकको सुख, दुखमा सँगै रहेका सांसद चौधरी नवलपरासी क्षेत्रको विकासमा पनि लागि परेका छन् । यसको सानो उदाहरण हो बर्दघाटमा ट्रमा सेन्टर निर्माणको काम औपचारिक रुपमा सुरु हुनु । यो विषयमा उनको भनाई छ, ‘ मेरो निर्वाचन क्षेत्र नवलपरासी, बर्दघाटमा ट्रमा सेन्टर निर्माणको काम औपचारिक रुपमा शुभारम्भ भएको छ। आज माननीय स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा ट्रमा सेन्टरको सिलान्यास गर्न पाउँदा अत्यन्त खुशी छु। निर्वाचित भएको पहिलो दिनदेखि नै मैले यो परियोजनालाई उच्च प्राथमिकतामा राखेर अगाडि बढाएको थिएँ। यस परियोजनालाई सफल बनाउन अहोरात्र खटिनु भएका सबै व्यक्ति र सम्बन्धित निकायलाई विशेष धन्यवाद। राजधानी बाहिरको पहिलो ट्रमा सेन्टर नवलपरासीमा स्थापना हुनु नवलपरासीवासी मात्र नभई सम्पूर्ण राष्ट्रका लागि गर्वको कुरा हो। सबैमा हार्दिक नमन्। ’