धर्मेन्द्र झाको एउटा नयाँ अध्ययनको थालनी मिथिला मिथक सार्वजनिक

धर्मेन्द्र झाको एउटा नयाँ अध्ययनको थालनी मिथिला मिथक सार्वजनिक


पत्रकारितासँगै साहित्य र अनुसन्धानका क्षेत्रमा पनि परिचित नाम हो, धर्मेन्द्र झा । मूलतः मैथिली र नेपाली भाषामा कलम चलाउने उनको साहित्यिक नाम हो, ‘धर्मेन्द्र विह्वल’ । यी दुवै भाषामा उनका दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन् । यसो हुँदा धर्मेन्द्र पत्रकारिता क्षेत्रमा झा र साहित्यिक क्षेत्रमा विह्वलका रुपमा परिचित छन् । पत्रकारका रूपमा धर्मेन्द्रले विभिन्न सञ्चार माध्यममा आबद्ध भई सम्पादकीय नेतृत्व सम्हालिसकेका छन् भने नेपाल पत्रकार महासङ्घमा केन्द्रीय अध्यक्षको भूमिका ९२०६५–६८० निर्वाहको अनुभव सँगालिसकेका छन् । पत्रकारिताका प्रशिक्षक समेत रहेका झाका पत्रकारितासम्बन्धी अनेकौँ पुस्तक प्रकाशित छन् ।
पत्रकार झा जत्तिकै महत्वपूर्ण व्यक्तित्व हुन साहित्यकार विह्वल । नेपाली साहित्य क्षेत्रमा उनी विह्वल नामले त्यति परिचित होइनन्, सायद विह्वलले धेरैजसो साहित्य रचना मैथिलीमा गर्ने भएर पनि यसो भएको होला ।
केही महिनाअघि ‘शहरक भीडमे एसगर हम’ नामक प्रयोगवादी मैथिली कविता सङ्ग्रह पाठकमाझ पस्केका विह्वलको मैथिली भाषामा हालै एक अनुसन्धानात्मक कृति ‘मिथिला मिथक’ प्रकाशित भएको छ । साहित्यको सबैजसो विधामा कलम चलाउने उनी मैथिली साहित्यमा मूलतः कवि र नियात्राकारका रूपमा स्थापित छन् ।
उनको यो पछिल्लो कृति मिथिला मिथक अनुसन्धामा आधारित छ । यसअघि नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली मिथक कोशका रूपमा नेपालका केही भाषामा प्रचलित मिथकको संकलन प्रकाशित गरेको सन्दर्भलाई अपवाद माने हो भने नेपाल र यहाँ बोलिने भाषामा मिथकबारे खासै काम हुन सकेको छैन । यस्तोमा सायद यो पुस्तक यस विषयमा नेपालमै पहिलो हुन सक्छ ।

मुख्यतया नेपालको मैथिलीभाषी समाजमा किंवदन्ती र विश्वासका रूपमा जीवित मान्यता, संकलन गरी यस पुस्तकमार्फत प्रस्तुत गरिएका छन् । मिथिला र मिथक, मिथिला, सीतायण र महाभारत, मिथिला विभूति, चाडपर्व, मन्दिर, देव–देवी र पोखरी तथा जनश्रुति तथा जनविश्वास गरी ६ अध्यायमा विभाजित पुस्तकमा एक सय ११ वटा मिथक संकलित छन् । लेखकका अनुसार यो अध्ययन प्रारम्भ मात्र हो अन्त्य होइन । उनी भन्छन्, ‘मिथिला क्षेत्रमा विश्वासका रूपमा यस्ता थुप्रै सन्दर्भ छन्, जसको खोजी र अध्ययन हुनु जरुरी छ । पुस्तकका भूमिका लेखक मैथिली साहित्यका अनुसन्धानकर्ता लेखक विद्वान् डा। रमानन्द झा रमणका अनुसार यस्ता सन्दर्भको अध्ययनले सम्बद्ध समाजको इतिहास, सभ्यता र परम्परा बुझ्न सघाउँछ । विद्वान् रमणले मैथिली भाषामा संकलन गरिएका यस्ता उदाहरण भारतमा पनि उपलब्ध नभएको बताएका छन् ।

अध्ययन प्रक्रियाका दृष्टिले निकै जटिल मानिने मिथक स्वयंंमा इतिहास मानिदैन तर यिनले इतिहासको अध्ययन प्रक्रियालाई भने आधार प्रदान गर्ने विश्वास गरिन्छ । पुस्तक प्रस्तुतकर्ता विह्वलले, यसमा संकलित सबै सामग्री मिथक नै हुन भन्ने दाबी गरेका छैनन् । उनलार्ई मिथक भन्नेजस्तो जे लागेको छ, ती सामग्री प्रस्तुत गरेका छन् । विह्वल भन्छन्, ‘तर यो कृतिले मिथक अध्ययनका बारेमा बहस भने प्रारम्भ गर्नेछ ।’ कुल एक सय १२ ९कभर समेत० पृष्ठको यो पुस्तक मुन्नी कुमारी मिश्रले प्रकाशित गरेकी हुन् । कलाकार आकांक्षा झाले आवरण कला तयार गरेको यो पुस्तक मूल्यका दृष्टिले चार सय रुपैयाँभन्दा केही बढी रहेको बोध गरिए पनि महत्त्वका दृष्टिले भने कृति उपयोगी र संग्रहणीय रहेको कुरामा विमति हुन सक्दैन