नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या


काठमाडौँ । नेपाल टेलिकमको मोबाइल सेवाको नेटवर्कमा समस्या देखिएको छ । आज बिहान केहीबेर नेपाल टेलिकमको मोबाइल फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको हो ।आज बिहान ११ बजेपछि टेलिकमका विभिन्न स्थानमा नेटवर्कहरूमा सेवा प्रभावित भएका थिए । टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार प्रणालीमा समस्या आउँदा केहीबेर नेटवर्क प्रभावित भएको हो ।

गत १० असारमा पनि टेलिकमको टेलिफोन नेटवर्कमा समस्या आएको थियो । नेपाल टेलिकमको सेवामा पटक–पटक यस्तो समस्या आउने गरेको छ । यसले सेवाग्राहीहरू मर्कामा पर्ने गरेका छन् । सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी दिने गरेको छैन ।

टेलिकमको पुरानो बिलिङसहितका विभिन्न प्रणालीहरू चुस्त रूपमा मर्मत सम्भार र अद्यावधिक नगर्दा सेवा रोकिने समस्या दोहोरिँदै आएको छ ।