ग्वार्को फ्लाइओभर निर्माण चार महिनादेखि ठप्प, ट्राफिक जामले सास्ती

ग्वार्को फ्लाइओभर निर्माण चार महिनादेखि ठप्प, ट्राफिक जामले सास्ती


ललितपुर । ग्वार्को फ्लाइओभरको निर्माण अहिले ठप्प छ । र्‍याम्पमा ग्राभेल मिसिएको बलौटे माटो भर्ने (फिलिङ गर्ने) काम भइरहेका बेला बर्खा सुरु भएपछि काम रोकिएको हो । जेठ दोस्रो सातादेखि सामान्य निर्माणका कामबाहेक मुख्य काम हुन सकेको छैन । दसैँअघि नै फ्लाइओभर सञ्चालनमा ल्याउने दाबी गरिएको थियो । तर, त्यो गतिमा काम भएको छैन ।

सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार अहिलेसम्म समग्र भौतिक प्रगति करिब ८० प्रतिशत छ । केन्द्रका निर्देशक प्रभातकुमार झाले वर्षाका कारण काम रोकिएको बताए । ‘प्याराफिटको काम, ब्यारियरहरू बनाउने काम भइरहेको छ । मेन र्‍याम्पको काम रोकिएको छ । दसैँपछि सुरु हुन्छ’, उनले भने, ‘अहिले भारतीय टोलीले सेटल्मेन्ट मोनिटर गर्दैछन् ।’ सडकको दायाँबायाँ प्यारापिट वाल लगाउने काम भइरहेको छ ।

अहिले छेउछेउमा कङ्क्रिट प्यानल र विशेष प्रकृतिको ‘पोलिमर रेन्फोर्समेन्ट’ राखेर र्‍याम्प बनाउने काम भइरहेको छ । र्‍याम्प १०.२ मिटर अग्लो बन्नेछ । झाका अनुसार फ्लाइओभरमा जोडिने पुलको काम ९५ प्रतिशत सकिइसकेको छ । उनले भने, ‘पुलको काम करिब करिब सकिएको छ ।’

गत फागुन १२ भित्रै निर्माणको काम सक्ने गरी २०७८ फागुनमा ठेक्का कार्यादेश दिइएको थियो । तर, बिचमा डिजाइन परिवर्तनलगायत कारणले तोकिएको अवधिमा काम सक्न नसकिएको आयोजनाको भनाइ छ । ठेक्का भएको १३ महिनामा डिजाइनमा समस्या आएपछि काम रोकिएको थियो ।

सम्बन्धित समाचार  : ग्वार्को फ्लाईओभरको डिजाइन परिवर्तनको चर्चाले उब्जाएको आशंका

फ्लाइओभर निर्माणको ठेक्का आशिष-समानान्तर-रेलिगेर जेभीले लिएको छ । निर्माणका क्रममा प्राविधिक समस्या देखिएपछि मुख्य काम रोकेर निर्माण व्यवसायीले ‘डिजाइन रिभाइज’ गरेका थिए । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत भएको ठेक्का हुनाले डिजाइनदेखि निर्माणसम्मको काम ठेक्का लिने कम्पनीले नै गर्नुपर्छ ।

आवतजावतको संरचनासहित ५ सय ४० मिटर लामो फ्लाइओभरको १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । अन्तिम समयमा आएर डिजाइन परिवर्तन गर्दा घाटा सहनुपरेको आशिष-समानान्तर-रेलिगेरले जनाएको छ ।

निर्धारित समयभित्र काम नसकिएपछि आगामी पुससम्मका लागि म्याद थपिएको छ । झाले भने, ‘पुससम्म कारणबस काम सएिन भने हर्जना लाग्छ ।’

ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम हुने गरेको छ । झण्डै डेढ वर्षदेखि सडकमा ट्राफिक जामको समस्या झेल्नु परेको छ ।

चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा फ्लाइओभर निर्माण गर्ने योजनाअनुसार ग्वार्को चोकमा फ्लाइओभर निर्माण भइरहेको हो ।