डडेल्धुरामा बोराभित्र किशोरीको शव फेला

डडेल्धुरामा बोराभित्र किशोरीको शव फेला


काठमाडौँ । डडेल्धुरामा प्लास्टिकको बोरामा बेरेको अवस्थामा किशोरीको शव भेटिएको छ ।

अमरगढी नगरपालिका-७ पोखरा बजार नजिकै १४ वर्षीया आरती भट्टराईको शव प्लास्टिकको बोरामा बेरेर फालेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

डडेल्धुरा प्रहरीका अनुसार गएराति पौने ११ बजे भट्टराईको शव फेला परेको हो। भीमदत्त राजमार्गबाट करिब १० मिटर भित्र किशोरीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

भट्टराईको बाहिर देखिने चोटपटक नभए पनि नाकबाट रगत बगिरहेको पाइएको छ । घटनास्थल कार्य सकेर शनिबार बिहान शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आशंकामा अनुसन्धानका लागि प्रहरीले एक जनालाई पक्राउ गरेको छ तर उनको परिचय खुलाइएको छैन । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।