लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालसहित ३४ देशद्वारा निन्दा

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालसहित ३४ देशद्वारा निन्दा


काठमाडौँ । लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको नेपालसहित ३४ देशहरूले निन्दा गरेका छन् ।

परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह समेत गरेको छ । सामाजिक सञ्जाल एक्समा मन्त्रालयले लेखेको छ, ‘नेपाल संयुक्त राष्ट्र संघको अन्तरिम बल (यू.एन.आई.एफ.आई.एल) का शान्ति सैनिकमाथि हालै भएको आक्रमणको कडा निन्दा गर्दछ । साथै संघर्षरत सबै पक्षलाई संयुक्त राष्ट्र संघकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ । यस्ता आक्रमण तत्काल रोक्नुपर्दछ र घटनाको गहन अनुसन्धान गर्नुपर्दछ ।’

संयुक्त राष्ट्र संघका अनुसार इजरायली सेना आइबार शान्ति सेनाको बेसमा जबरजस्ती घुसपैठ गर्दै गोलाबारी गरेको थियो । संयुक्त राष्ट्र संघको अन्तरिम बल (यूनिफिल) मा योगदान गर्दै आएको राष्ट्रका रूपमा नेपालले यूनिफिलको मिसन र गतिविधिप्रति समर्थन जनाएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना आइतबार जबर्जस्ती प्रवेश गरेका थिए । यस घटनाले शान्ति सेना र इजरायली सेनाबीच तनाव बढेको थियो । त्यसको भोलिपल्ट इजरायली सेनाले हिजबुल्ला लक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिकसमेत घाइते भएका थिए ।