काठमाडौँ । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले आफ्नै इच्छाले पार्टी कार्यालय बनाउनको लागि जग्गा दान दिएको प्रष्टीकरण दिएको छ।
भाटभटेनीका सञ्चालक व्यवसायी गुरुङले दान गरेको १० रोपनी १४ आना जग्गामा पार्टी कार्यालय बनाउन थालेपछि आलोचना भएपछि एमालेले प्रष्टीकरण दिएको हो।
एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमालेको केन्द्रीय कार्यालय भवन निर्माणको विषयलाई लिएर पार्टी भित्र र बाहिर अनेक खालका भ्रम, अफवाह फैलाउने, गलत सूचना प्रवाह गरी मिडियालाई दुरुपयोग गरी पार्टी, पार्टी नेतृत्वका विरुद्ध विष वमन गर्ने काम भइरहेको बताए।
उनले भने, ‘तथ्य के हो, एक जना दानवीर मीनबहादुर गुरुङ र सावित्री गुरुङले बाढी, लेदोले क्षतविक्षत भएको नेकपा (एमाले)को केन्द्रीय कार्यालयको दुरावस्थादेखि नयाँ कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा प्रदान गर्नु भएको हो। यसमा कुनै किसिमको लेनादेना छैन, स्वेच्छाले जग्गा दान गर्नुभयो, एमालेले ग्रहण गर्यो। तथ्य नबुझी बदनाम नगरौँ।’ पार्टी केन्द्रीय सचिवालयको निर्णयका आधारमा जग्गा लिने, भवन निर्माण गर्ने गरी भवनको शिलान्यास गरिएको उनले बताए।
प्रतिक्रिया