वर्षमान पुनले भने-सरकारले बिचौलिया तत्त्वको स्वार्थमा काम गर्दा जनता थप निराश भए

वर्षमान पुनले भने-सरकारले बिचौलिया तत्त्वको स्वार्थमा काम गर्दा जनता थप निराश भए


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले गठन भएको तीन महिना बितिसक्दा पनि वर्तमान काँग्रेस-एमाले गठबन्धन सरकारले लय समात्न नसकेको बताएका छन् ।

गृह जिल्ला रोल्पाको राङसीमा शहीद स्मृति युवा क्लबको १५ औँ वार्षिकोत्सवमा बोल्दै उनले सरकार जनआकांक्षा र भावनाअनुसार नचलेको बताए ।

पूर्ववर्ती पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन कायम गर्न भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्नलाई भटाभट कारबाही गर्न थालेपछि अत्तालिएका बिचौलिया तत्त्वले प्रतिनिधिसभाका दुई प्रमुख दल काँग्रेस र एमालेलाई रातारात मिलाएर केपी ओली नेतृत्वमा वर्तमान सरकार गठन गरेको आरोप उनको थियो ।

सरकारले यो तीन महिनामा आशा जगाउने काम गर्नुको साटो बिचौलिया तत्त्वहरूकै स्वार्थमा काम गरेको टिप्पणी पुनले गरे । ‘बिचौलिया तत्त्वहरूले प्रमुख दुई दललाई प्रभावमा पारेर आफ्नो स्वार्थमा सरकार बदल्ने काम गरे’, पुनले भने, ‘नयाँ सरकार बनेको तीन महिना भयो । सरकारले कुनै नयाँ उत्साह जगाउन, नयाँ कार्यक्रम ल्याउन र सकारात्मक बाटो लिएको छैन ।’

सरकारले जनतामा आशा जगाउन नसकेको र मुलुकका निराशा बढ्दै गएको उनको भनाइ छ । सरकारमा रहका दलहरूलाई जनताका आकांक्षा र भावनाअनुसार काम गर्न सुझाउँदै उनले प्रमुख प्रतिपक्षीको हैसियतमा आफ्नो दलले राम्रो कामका लागि सहयोग गर्ने र खराब काम गर्दा विरोध गर्ने स्पष्ट गरे ।

फरक प्रसंगमा पुनले पञ्चायतको ३० वर्ष र ०४६ पछिको बहुदलीय संसदीय व्यवस्थाको १५ वर्षमा भन्दा गणतन्त्र स्थापनापछिको १५ वर्षमा भौतिक पूर्वाधार निर्माण र विकासका काम धेरै भएको औँल्याए ।

आफूले अर्थमन्त्रीका रूपमा चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दा तथ्यांक नै पेस गरेको उल्लेख गर्दै उनले ३० वर्षको पञ्चालयतकालमा ७ हजार किलोमिटर, संसदीय व्यवस्थाको अवधिमा १८ हजार किलोमिटर र गणतन्त्र स्थापनापछिको पछिल्लो १५ वर्षमा देशभर १ लाख किलोमिटर सडक निर्माण भएको बताए । त्यसलाई उनले गणतान्त्रिक व्यवस्थाको सकारात्मक सूचकका रूपमा व्याख्या गरेका छन् ।