साफ महिला च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै श्रीलंकाको विजयी सुरुवात

साफ महिला च्याम्पियनसिप : माल्दिभ्सलाई हराउँदै श्रीलंकाको विजयी सुरुवात


काठमाडौँ- साफ वुमन्स च्याम्पियनसिप २०२४ मा श्रीलंकाले शुक्रबार माल्दिभ्सलाई १-० ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह बीको पहिलो खेलमा श्रीलंकालाई जित दिलाउन इमेँ अनुराधिनीले निर्णायक गोल गरिन् ।खेलको १७औँ मिनेटमा इमेसा अनुराधिनीले गोल गर्दै श्रीलंकालाई अग्रता दिलाईन् । पी एम परेराले दिएको क्रसमा बक्स भित्र अनमार्क रहेकी अनुराधिनीले हेड मार्फत गोल गरेकी हुन् ।

श्रीलंकाले खेलको दोस्रो हाफमा पनि गोल गर्ने केही अवसर बनाएको थियो तर सदुपयोग गर्न सकेन । माल्दिभ्सले भने खेल अवधिभर खासै आक्रमण गर्न सकेन।

श्रीलंकाले सन् २०१९ पछि साफ वुमन्स च्याम्पियनसिपमा पहिलो पटक गोल गरेको र खेल जितेको हो। सन् २०१९ मा विराटनगरमा भएको पाँचौँ साफमा श्रीलंकाले माल्दिभ्सलाई २-० ले पराजित गर्दा श्रीलंकाका लागि चालिनीले दुवै गोल गरेकी थिइन्।

श्रीलंका साफ च्याम्पियनसिपमा चार खेलपछि पहिलो पटक गोल गरेको हो ।यस्तै श्रीलंकाले सन् २०१६ मा मालदिभ्ससँग व्यहोरेको हारको बदला समेत लिएको छ ।

सन् २०१६ मा माल्दिभ्सले श्रीलंकालाई समूह चरणमा ५-२ ले परनजित गरेको थियो । माल्दिभ्सले साफ वुमन्स च्याम्पियनसिपमा गोल नगरेको खेल संख्या ७ पुगेको छ ।

माल्दिभ्सले पछिल्लो पटक सन् २०१६ मा भारतको सिलगुरीमा भएको चौथो साफमा समूह चरणमा भुटान विरुद्ध अन्तिम पटक गोल गरेको थियो ।