ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री

ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री


देउखुरी (दाङ) । वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गरेका छन्। उनको फूलखेतीमा पुग्ने जो कसैको मन आनन्दित हुन्छ । कतिपयले आइपुग्ने बित्तिकै सेल्फी खिच्ने गर्छन् । तिहार लक्षित सयपत्रीले फूलबारी पहेँलै भएका छन्  ।

भास्करसँगै प्राविधिक सहायक दशरथ साउद पनि फूलखेतीमा लागेका छन्। कृषि प्राविधिक पढेर कृषिमा लागेका साउदले फूलखेतीमा लाग्ने रोगकिरा र अन्य प्राविधिक पक्ष हेर्छन् । कपिलवस्तुमा छ वर्ष पहिलेदेखि फूल खेतीमा लागेका पंगेनी र साउदले तीन वर्ष अघिदेखि दाङमा व्यावसायिक फूलखेती विस्तार गरेका हुन् ।

घोराही–१५ भरतपुरमा १७ कट्ठा जमिन मासिक रु दुई हजार भाडामा लिएर उनीहरूले फूलखेती गरिरहेका छन्। गत वर्ष तिहारमा मात्रै रु १३ लाखको फूल बिक्री गरेको साउदले बताए । तिहार पछाडि सयपत्री फूलेपछि सोही स्थानमा ‘टिकटक स्पट’ बनाएर रु पाँच लाख आम्दानी गरेको उनले बताए । यसपालि एकै सिजनमा १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य उनीहरूको छ ।

उनीहरूले दुई वर्ष अगाडि कर्मा–५५५ जातको सयपत्री फूलबाट खेती सुरु गरेका थिए । यसपालि कर्मा ५५५, कर्मा–९९९ यल्लो गरी दुई जातका सयपत्रीका बिरुवा रोपेका छन् । दाङमा रु ८०  हजारको बीउ किनेर बेर्ना राखेको दशरथ साउदले बताए ।

“यी सबै फूलको बीउ थाइल्यान्डबाट ल्याएर उमारेका हौँ”, उनले भने, “यसपालि रु दुई लाखको बेर्ना बिक्री भइसक्यो ।  बिरुवाको जात हेरेर प्रतिगोटा रु दुई देखि ५० सम्ममा बिक्री हुने गरेको छ ।”

स्वदेशमै कृषिबाट आम्दानी गर्न सकिने अर्का व्यवसायी भास्कर पंगेनी बताउछन् । उनले बेरोजगार युवालाई कृषिमा जोड्ने उद्देश्यले एक सय आठ अवधारणा बनाई कृषि फार्मको नाम नै एक सय आठ राखेका छन् । फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उनको भनाइ छ । यहाँ उत्पादित फूल भण्डारण गर्ने चिस्यान केन्द्र नहुँदा लामो समयसम्म राख्न समस्या भएको उनले बताए ।

राम्रो चिस्यान केन्द्र भएमा स्वदेशमा उत्पादित सयपत्री विदेश निर्यात गर्न सकिने उनले बताए। फूलमा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाहरूमा क्षेत्र विस्तारको योजना बनाएको पंगेनीको भनाइ छ ।