न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा

न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा


काठमाडौँ । न्युजिल्यान्ड १४ वर्षपछि पहिलो पटक आईसीसी महिला टी-२० विश्वकपको फाइनलमा पुगेको छ।

युएईको शारजाह स्टेडियममा भएको खेलमा न्युजिल्याण्डले वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२८ रन बनाएको थियो।

उसका लागि जर्जिया प्लिमरले सर्वाधिक ३३ रन जोड्दा सुइज बटेसले २८, ब्रुक हल्लिडेले १८, सोफि डेभिनले १२ रन बनाइन्। इसाबेल्ला गाज २० रन बनाएर नटआउट रहिन्।

वेस्ट इन्डिजका डियन्ड्रा डोटिनले चार, अफि फ्लेचरले दुई तथा करिश्मा रामाराक र आलिया अलेनेले समान एक(एक विकेट लिए।

१२९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२० रनमा समेटियो। उसका लागि डियन्ड्रा डोटिनले सर्वाधिक ३३ रन बनाउँदा अफि फ्लेचरले नटआउट १७, हेले म्याथूजले १५, जाइदा जेम्सले १४ रन जोडिन्।

यसका अलावा स्टेफेन टेलरले १३, कुइना जोसेफले १२ रन जोडे।न्युजिल्यान्डका इडेन कार्सनले तीन, अमिलिया केरले दुई तथा फ्रान जोनस, ली तहुहु र सुजी बेट्सले समान एक(एक विकेट लिए।

जितसँगै अब उपाधिका लागि न्युजिल्यान्डले दक्षिण अफ्रिकासँग आइतबार बेलुकी पौने ८ बजे भिड्नेछ।