सुडानमा ३० लाख भन्दा बढी मानिसहरू हैजाको जोखिममा: युनिसेफ

सुडानमा ३० लाख भन्दा बढी मानिसहरू हैजाको जोखिममा: युनिसेफ


काठमाडौँ । संयुक्त राष्टसंघीय बाल कोष (युनिसेफ) ले शुक्रबार सुडानमा ३० लाख भन्दा बढी मानिसहरू हैजाको जोखिममा रहेको जनाएको छ ।

युनिसेफले पाँच वर्ष मुनिका छ लाख बालबालिकासहित करिब ३० लाख मानिसहरू हैजाको जोखिममा रहेको सामाजिक सञ्जाल एक्स मार्फत जनाएको हो ।

युनिसेफका अनुसार सुडानमा सन् २०२३ अप्रिलमा भएको आन्तरिक द्वन्द्वका कारण अत्यावश्यक खोपको उपलब्धता ८५ प्रतिशतबाट घटेर करिब ५० प्रतिशतमा झरेको छ ।

द्वन्द्व प्रभावित क्षेत्रका ७० प्रतिशत भन्दा बढी अस्पतालहरू बन्द रहेको तथा अग्रपङ्क्तीमा रहेर स्वास्थ्य सेवा प्रधान गर्ने स्वास्थ्य अधिकारीलाई महिनौँ देखि तलब भुक्तानी नगरिएको युनिसेफले जनाएको छ ।
आन्तरिक द्वन्द्व सुरु भएदेखि हैजा, मलेरिया, र डेंगु ज्वरोजस्ता महामारी रोगहरू फैलिदा सयौँको मृत्यु भएको छ ।

सुडानको स्वास्थ्य मन्त्रालयले अगस्टमा देशमा हैजाको प्रकोप घोषणा गर्दै द्वन्द्व र अशुद्ध पानीको प्रयोग तथा बिग्रिँदो वातावरणीय अवस्था हैजा फैलावटको कारण भनेको थियो ।