साम्बाको पहिलो गोल, अभान्ट ग्वेन्ग्याम्पको पहिलो जित

साम्बाको पहिलो गोल, अभान्ट ग्वेन्ग्याम्पको पहिलो जित


काठमाडौं -साफ च्याम्पियनसिप २०२४ खेल्न नेपाल फर्कनुअअघि सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रान्सेली महिला फुटबलको शीर्ष डिभिजन लिगमा यो सिजनको पहिलो गोल गरेकी छन् ।

साम्बाको गोलसँगै अभान्ट ग्वेन्ग्याम्पले स्ट्रसबर्गलाई ३–२ ले पराजित गर्दै शनिबार सिजनको पहिलो जित दर्ता गर्यो । उनले ५८ औं मिनेटमा गोल गरेपछि अभान्ट ग्वेन्ग्याम्पले घरेलु मैदानमा अग्रता लिएको थियो ।

त्यसको सात मिनेटभित्रै दुई गोल गर्दै पाहुना टिम स्ट्रसबर्ग २–१ ले अगाडि बढ्यो । तर, घरेलु टिमकी अगाते ओलिभियरले ६६ औं गोल गर्दै खेल २–२ बनाइन् ।

बराबरी उन्मुख खेलको इन्ज्युरी समयको अन्तिममा पाएको पेनाल्टीलाई लेइला पेनेउले निर्णायक गोलमा परिणत गरेपछि अभान्ट ग्वेन्ग्याम्पले ३–२ को रोमाञ्चक जित रचेको हो । साम्बाको टिमले यो सिजन पहिलो अंक जोड्ने क्रममा पहिलो जित हात पारेको हो ।

अभान्ट ग्वेन्ग्याम्पले यसअघिका चारै खेल हारेउको थियो । स्ट्रसबर्गविरुद्धको जितसँगै अभान्ट ग्वेन्ग्याम्प १२ क्लब सहभागि लिगको शीर्ष दसमा उक्लियो ।

अखिल नेपाल फुटबल संघका अनुसार सम्बा साफ महिला च्याम्पियनसिप खेल्नका लागि आइतबार स्देश फर्किदैछिन् ।

साम्बाबिनाको नेपाली टिमले शुक्रबार भुटानविरुद्ध गोलरहित खेल्दै अंक बाँडेको थियो । उनले सम्भवत् सोमबार माल्दिभ्सविरुद्ध खेल्नेछिन् ।