काठमाडौं – फूलपाती अर्थात् असोज २४ बाट प्रदर्शनमा आएका तीन फिल्म ‘छक्का पञ्जा ५‘, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ दोस्रो सातामा प्रदर्शनरत छन् । दुई फिल्मले सुरुवाती सात दिनको कमाइ सार्वजनिक गरेका थिए । ज्वाइँ साबले भने कमाइ सार्वजनिक गरेको थिएन ।
दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको ‘छक्का पञ्जा-५’ ले सुरुवाती सात दिनमा ११ करोड रुपैयाँ माथिको व्यापार गरेको थियो । १० दिनमा यस फिल्मको ग्रस कलेक्सन १५ करोड रुपैयाँभन्दा माथि छ ।
विराज भट्टको फिल्म ‘१२ गाउँ’ले सुरुवाती सात दिनमा १० करोडमाथि व्यापार गरेको गोविन्द शाहीको दाबी छ । सिनेमा घरहरूमा पछिल्ला दिनमा यो चलचित्रको अकुपेन्सी पनि बढेको थियो ।
‘ज्वाइँ साब’को निर्माण पक्षले आइतबार एकैचोटी सुरुवाती १० दिनको ग्रस कलेक्सन सार्वजनिक गरेको छ । अन्य दुई फिल्मभन्दा कमजोर व्यापार गरेको यस फिल्मले हालसम्म तीन करोड २५ लाख रुपैयाँको मात्रै व्यापार गरेको हो ।
दीपक-दीपाको टिमबाट बाहिरिएका जितु नेपाल ज्वाइँ साबको केन्द्रीय भूमिकामा छन् । १० दिनको व्यापार तुलना गर्दा ‘छक्का पञ्जा-५’ को व्यापार ‘ज्वाइँ साब’को भन्दा झन्डै पाँच गुणा बढी छ ।
यद्यपि ज्वाइँ साबका निर्देशक वसन्त निरौलाले फिल्मको व्यापारप्रति सन्तुष्टि रहेको जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनेका बाधा-व्यवधान बाबजुद यो प्रतिफलले हाम्रो युनिट प्रसन्न छ । धन्यवाद दर्शक !’
प्रतिक्रिया