सामाखुसी यातायातद्वारा ७ करोड लगानीमा १५ बस थप

सामाखुसी यातायातद्वारा ७ करोड लगानीमा १५ बस थप


 

काठमाडौँ । सामाखुसी यातायात प्रालिले सात करोड रुपैयाँ लगानीमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिले स्थानीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै थप बस सञ्चालनमा ल्याएको बताएका हुन् ।

‘काठमाडौँ उपत्यकामा यात्रुको अत्यधिक चाप छ, बस थपेसँगै यात्रुलाई सहज हुने विश्वास लिएका छौँ’, उनले भने । काठमाडौँको उत्तरी क्षेत्रमा बढ्दो जनसङ्ख्या तथा स्थानीय तहको चाहनाअनुसार बस थप गरिएका उनको भनाइ थियो ।

अध्यक्ष प्रजापतिले सुरुआतमा नौ माइक्रोबसबाट सेवा सञ्चालन गरेको सामाखुसी यातायातले हाल ८० माइक्रोबस तथा ५० ठूला बसमार्फत सेवा प्रदान गरिरहेको जानकारी दिए ।

सो यातायातले काठमाडौँको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीबाट सेवा दिँदै आएको प्रालिका आर्थिक व्यवस्थापक दीपेन्द्र केसीले जानकारी दिए । प्रालिले हाल तीन सय ५० चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको उनले बताए ।