विराटनगर । मामा ससुरा वडाध्यक्षलाई कार्यवाहक छाडेर सपरिवार लन्डन पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अदालतको आदेशसमेतलाई चुनौती दिएका छन् ।
फेसबुकमा स्ट्याटस र भिडिओमा उनले आफूलाई अदालतले नभई जनताले मेयर बनाएको बताएका छन् । कसलाई कार्यवाहक दिने या नदिने सबै अधिकार आफूमा हुने भन्दै साम्पाङले रडाको नमच्चाउनू भन्दै चेतावनीसमेत दिएका छन् ।
उच्च अदालत विराटनगरले वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र फागोलाई कावा दिने साम्पाङको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ ।
आफूले नागरिकको मताधिकारका आधारमा वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको उनको जिकिर छ ।
उनको भनाइ छ, ‘मैले जसलाई अधिकार दिएको छु उही कार्यवाहक हो । केही हल्ला नगर । मलाई कुनै अदालतले चुनेको होइन १ लोकतन्त्रमा सार्वभौम नेपाली नागरिकको शासन गर्ने अधिकार मताधिकारले चुनेको हो १ म ५ वर्षसम्म धरानको प्रमुख हुँ जुन जनताले बनाउनुभएको हो ! मैले नागरिकले दिएको अधिकार दिएर ११ नं को अध्यक्षलाई कार्यवाहक छोडेको छु ! मैले जसलाई अधिकार दिएँ उही हो कार्यवाहक ! केही हल्ला नगर ’’’
‘मुख छाड्नु नपरोस् ! धरानको विकासको लागि म दुई दिन यूके आउँदा बद्नाम गर्दै नबस है’, हर्कले लेखेका छन् ।
भिडिओमा बोल्दै उनले अदालतले स्टे अर्डर जारी भए पनि आफूले कार्यवाहक तोकेको व्यक्ति नै धरानको कार्यवाहक मेयर भएको दाबी गरेका छन् ।
प्रतिक्रिया