मौसम खुलेसँगै लुक्ला पुगे एकै दिन ११ सय ५५ पर्यटक

मौसम खुलेसँगै लुक्ला पुगे एकै दिन ११ सय ५५ पर्यटक


काठमाडौँ । एक सातापछि मौसम खुलेसँगै लुक्ला विमानस्थलमा एकै दिन ११ सय ५५ पर्यटक भित्रिएका छन् । प्रतिकुल मौसमका कारण रामेछापको मन्थली र काठमाडौँमा रोकिएका पर्यटक हवाई मार्ग खुलेसँगै सोमबार लुक्ला पुगेका हुन् ।

मन्थली र काठमाडौँबाट तारा, समिट र सीता एयर गरी ३ वटा कम्पनीका ४७ वटा जहाजले सोमबार उडान भरे भने विभिन्न कम्पनीका हेलिकप्टरले १ सय ३० वटा उडानमार्फत पर्यटकलाई लुक्ला ल्याइपुर्‍याएको तेन्जिङ हिलारी विमानस्थल लुक्लाले जनाएको छ ।

मौसम अनुकूल भएसँगै उडानहरू सूचारु भएका हुन् । आज ताराले १६, सीताले १५ र समिट एयरले १६ गरी ४७ वटा उडान गरेका छन् भने हेलिकप्टरले १ सय ३० वटा उडान भरेका छन् । प्लेनमार्फत ५ सय ७५ विदेशी पर्यटक भित्रिएको र हेलिकप्टरबाट ५ सय ८० गरी ११ सय ५५ पर्यटक भित्रिएको जिल्ला प्रहरीले जनाएको छ ।

मन्थलीमा अड्किएर बसेका सबै पर्यटकको उद्धार भइसकेको छ । यसअघि पर्यटकको उद्धारका लागि कहिले नेपाली सेनाको प्लेन र कहिले हेलिकप्टर प्रयोग गर्ने रक्षामन्त्री र टानले बताए पनि सेनाको कुनै पनि उद्धार उडान भएन । अन्ततः निजी क्षेत्रका नियमित उडान भर्ने विमान कम्पनीहरुले नै पर्यटकको उद्धार गरेका छन् ।

खराब मौसमका कारण लुक्लामा रोकिएका साढे ५ सय पर्यटक पनि मन्थली फर्किएका छन् ।