असोजमा गएको बाढी-पहिरोबाट मकवानपुरमा १ अर्ब ६९ लाखको क्षति

असोजमा गएको बाढी-पहिरोबाट मकवानपुरमा १ अर्ब ६९ लाखको क्षति


काठमाडौँ । गत असोजको दोस्रो साता आएको बाढी-पहिरोले मकवानपुरमा १ अर्ब ६९ लाख ३५ हजारभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार प्रारम्भिक तथ्यांकका आधारमा २३ हजार रोपनी जग्गाको बालीनाली नष्ट भएको पाइएको छ ।असोज १० देखि १३ गतेसम्मको बाढी पहिरोले मकवानपुरका १० पालिकामध्ये सबैभन्दा बढी मानवीय र भौतिक एवं पूर्वाधारको क्षति इन्द्रसरोवर गाउँपालिकामा भएको छ । बाढी-पहिरोमा परेर मकवानपुरमा १० जनाको मृत्यु भएको छ । जसमध्ये इन्द्रसरोवर गाउँपालिकामा पहिरोमा परेर ६ जना खेलाडीको मृत्यु भएको थियो भने मनहरी गाउँपालिकामा बाढीले बगाएर २ जना, मकवानपुरगढीमा एक जना र वाग्मती गाउँपालिकामा १ जना गरी १० जनाको मृत्यु भएको जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरका अध्यक्ष एवं प्रजिअ तीर्थराज चिलुवालले बताए । बाढी पहिरोमा परेर ६ जना घाइते भएका छन् ।

थाहा नगरपालिकाका-२, भीमफेदी, मकवानपुर गढी, बकैया र वाग्मती गाउँपालिकामा एकरएक जना घाइते भएका थिए । अविरल वर्षाका कारण आएको बाढी पहिरोले १० पालिकाका १ सय ३० घर पूर्ण क्षति भएका छन् भने १ सय ८३ घरमा आंशिक क्षति पुर्‍याएको छ । सबैभन्दा धेरै इन्द्रसरोवर गाउँपालिकाका ४० घर बाढी पहिरोले नष्ट गरिदिएको छ भने २३ घरमा आंशिक क्षति पुर्‍याएको छ ।

विपद् व्यवस्थापन समितिको प्रारम्भिक तथ्यांक अनुसार बाढी पहिरोले वाग्मती गाउँपालिकाका १८ घर पूर्ण क्षति भएका छन् भने २२ घरलाई आंशिक क्षति पुर्‍याएको छ । भीमफेदी गाउँपालिकाका १४, थाहा नगरपालिकाका १३, कैलाश गाउँपालिकाका ११, मनहरीका ११, बकैयाका ११, मकवानपुरगढीका ५, हेटौँडा उपमहानगरपालिकाका ४ र राक्सिराङ गाउँपालिकाका ३ गरी १ सय ३० घरमा पूर्ण क्षति भएको छ ।

बाढी पहिरोले मकवानपुरमा ५ वटा पालिकाका १६ वटा झोलुङ्गे पुल बगाएको छ । सबैभन्दा धेरै वाग्मती गाउँपालिकाका १० वटा पुल बगाएको हो भने बकैयाका चार पुलमा क्षति पुर्‍याएको छ ।

बाढी पहिरोले वाग्मती गाउँपालिकाको १० हजार रोपनी जग्गामा लगाएको बालीनाली नष्ट गरेको छ भने बकैया गाउँपालिकाको ९ हजार १ सय ५२ रोपनी जग्गाको बालीनाली नष्ट गरेको छ । यसैगरी राक्सिराङको ३ हजार १ सय ४५ रोपनी र इन्द्रसरोवरका २ सय १० रोपनी र भीम फेदीको १ सय ४० रोपनी जग्गाको बालीनाली नष्ट हुनुका साथै सयौँ रोपनी जग्गा बगरमा परिणत भएको छ ।

मकवानपुरमा आएको बाढी पहिरोले मकवानपुरमा १० वटा पालिकाका २३ हजार ७९ रोपनी जग्गाको बालीनाली नष्ट गरेको छ । बाढी पहिरोबाट सबैभन्दा धेरै पशुचौपाया भीमफेदीमा क्षति भएको छ । यहाँका ४ हजार ४१ चौपायामा क्षति पुर्‍याएको छ । मकवानपुरमा बाढी पहिरोबाट ४ हजार १ सय ३६ चौपाया मरेका थिए । खानेपानी, विद्युत् र अन्य पूर्वाधार गरी ५८ वटालाई क्षति पुर्‍याएको तथ्यांकमा उल्लेख छ । बाढी पहिरोले २१ सडक र राजमार्गमा क्षतिग्रस्त बनाएको थियो ।