छविलाल जोशीसँग भैरहवामा १३ घन्टा बयान

छविलाल जोशीसँग भैरहवामा १३ घन्टा बयान


बुटवल । बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसँगको बयान सकिएको छ । उनीसँग सोमबार र मंगलबार गरी १३ घन्टा बयान लिइएको छ ।

पोखराको सूर्य दर्शन सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धानका क्रममा पोखरा प्रहरी हिरासतमा रहेका जोशीलाई बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले सोमबार बुटवल ल्याएको थियो । सोमबार ५ र मंगलबार ८ गरी १३ घण्टा जोशीसँग बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय भैरहवाका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए ।

‘उहाँको बयान सकिएको छ, हामीले अनुसन्धानका क्रममा ५७ वटा प्रश्न सोधेका थियौं,’ उनले भने, ‘अब उहाँबाट प्राप्त उत्तरलाई अनुसन्धान प्रतिवेदनमा समावेश गर्ने छौं ।’ बुटवलको सुप्रिम सहकारीबाट जोशीका नाममा २ करोड ५० लाख रुपैयाँ गएको देखिएको छ । त्यस्तै गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति रवि लामिछानेका नाममा २ करोड रकम गएको अनुसन्धानमा देखिएको छ । जोशी, लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिमका १० हजार ३ सय ९१ बचतकर्ताको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम ट्रान्सफर भएको छ ।

प्रहरीले यसअघि गरेको छानबिनमा जोशी, राई, सुप्रिमका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । तीमध्ये गुरुङ पुर्पक्षका लागि कारागार चलान भएका छन् । सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा छुटेका छन् । पूर्वअध्यक्ष राईसहित अन्य व्यक्ति फरार छन् ।