धनराजको तर्क – पूर्वपत्नीको गल्तीको दोषी मलाई बनाउने

धनराजको तर्क – पूर्वपत्नीको गल्तीको दोषी मलाई बनाउने


काठमाडौं – नेपाली काङ्ग्रेसका सांसद्‌ एवम्‌ पूर्वमन्त्री धनराज गुरुङले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै सहभागिता नरहेको र पूर्वपत्नीले गरेको गल्तीको दोषी आफूलाई बनाउन नमिल्ने तर्क गरेका छन्‌ ।

ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोप खेपिरहेका गुरुङले सामाजिक सञ्‍जाल एक्समा सहकारी ठगी प्रकरणमा आफू निर्दोष रहेको जिकिर गरेका हुन्‌ ।

धनराज दम्पत्तिको साँठगाँठमा सो सहकारीबाट कम्तिमा १४ करोड ८१ लाख रुपैयाँ रकम अपचलन भएको आरोप लागेको छ । सहकारी ठगी गरेपछि धनराज दम्पतीले सम्बन्धविच्छेद गरेको सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले संसदीय छानबिन समितिमा बयान दिएका थिए ।

सहकारी ठगी प्रकरणमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेपछि सो पार्टीका नेता/कार्यकर्ताले मितेरी सहकारी प्रकरणमा मुछिएका धनराज गुरुङमाथि पनि कारबाही गर्नुपर्ने माग राखिरहेका छन्‌ । देशका विभिन्न स्थानमा उनीहरूले धनराजको तस्बिर लिएर प्रदर्शन गरिरहेका छन्‌ ।