झापामा जग्गा विवादमा दुई पक्षबीच झडप, एक जनाको मृत्यु

झापामा जग्गा विवादमा दुई पक्षबीच झडप, एक जनाको मृत्यु


झापा- झापाको दमकमा जग्गा विवादका कारण भएको झडपमा एक जनाको मृत्यु भएको छ । झडपमा दमक नगरपालिका वडा नं. ९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मंगलबार साँझ दमक नगरपालिका वडा नं. ३ मा जग्गाको विषयलाई लिएर दुई पक्षबीच झडप भएको थियो । झडपका क्रममा ढुङ्गा लागेर गम्भीर घाइते भएका निरौलालाई तत्काल उपचारका लागि आम्दा अस्पताल दमक लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ । प्रहरीले केही शङ्कास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिइसकेको र थप अनुसन्धान जारी रहेको जनाएको छ ।