रास्वपाले संसदीय छानबिन समिति र संसदको अपमान गर्‍यो : विश्वप्रकाश शर्मा

रास्वपाले संसदीय छानबिन समिति र संसदको अपमान गर्‍यो : विश्वप्रकाश शर्मा


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय छानबिन समिति र संसदको अपमान गरेको टिप्पणी गरेका छन् ।

गत शुक्रबार रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले राजनीतिक प्रतिशोध भन्दै शनिबारदेखि पोखरामा विरोध प्रदर्शन गर्दै आएको छ । त्यसतर्फ लक्षित गर्दै शर्माले सामाजिक सञ्जालमा लेखेका छन्,’रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ, ‘प्रचलित कानुन बमोजिम कारबाही गर्नु’ तर प्रक्रिया शुरु भएपछि, ‘राजनैतिक प्रतिशोध’ भन्नु संसदीय समिति र संसद्कै अपमान होइन र ?

रास्वपाको प्रदर्शनलाई न्यायालय प्रभावित गर्ने ‘भ्रम–प्रयास वैकल्पिक राजनीति ? कि विधि उपर समेतको ठगी ?’ भन्दै शर्माले प्रश्न गरेका छन् ।

शर्माले रास्वपालाई सडकमा विलाप नगर्न सुझाव दिएका छन् । उनी भन्छन्, ‘काँग्रेसका दुई-चार, एमालेका दुई-चार, माओवादी, राप्रपा र रास्वपाका दुई-चार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगरौँ । अनुसन्धानलाई सघाऔँ, अदालतको फैसला कुरौँ । सडक विलापको जगहँसाई नगरौँ ।’

पार्टीका अन्धभक्तहरूले दल सुधार्न र देश बनाउन नसक्ने उल्लेख गरे । शर्माले लोभ र डरले कसैको इमानदार विवेक ध्वस्त बनाउँदा उत्तेजना भर्ने र भ्रम छर्ने कार्य हुने गरेको बताए ।