नेदरल्याण्ड्सका माइकल लेभिट काठमाडौँ गुर्खाजमा अनुबन्ध

नेदरल्याण्ड्सका माइकल लेभिट काठमाडौँ गुर्खाजमा अनुबन्ध


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि काठमाडौँ गुर्खाजले नेदरल्याण्ड्सका ब्याटर माइकल लेभिटलाई अनुबन्ध गरेको छ ।

काठमाडौँले बुधबार सामाजिक सञ्जालमार्फत लेभिटलाई अनुबन्ध गरेको जनाएको छ ।

लेभिटले अब मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुने पहिलो संस्करणको एनपीएल गुर्खाजबाट खेल्नेछन् ।

काठमाडौँले लेभिटलाई पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो । लेभिट एनपीएलका लागि अनुबन्ध हुने दोस्रो डच खेलाडी हुन् । यसअघि पोखरा एभेन्जर्सले अलराउण्डर बास डे लिडलाई अनुबन्ध गरिसकेको छ।

२१ वर्षीय युवा ब्याटर लेभिटले नेदरल्याण्ड्सका लागि ८ ओडिआई र १७ टी-२०आई खेल खेलिसकेका छन् । टी-२०आईमा उनले एक शतक र ४ अर्धशतक प्रहार गरेका छन् । जसमा उनको उच्च स्कोर १३५ रन हो । उनी पार्ट टाइम बलिङ पनि गर्छन् ।

लेभिटले गत फेब्रुअरीमा कीर्तिपुरमा नेपालविरुद्ध खेल्दै टी-२०आईमा बेब्यु गरेका थिए । उनलाई कीर्तिपुर मैदान खेलेको अनुभव समेत छ ।

काठमाडौं गुर्खाजमा अनुबन्ध हुँदा लेभिटले खुशी व्यक्त गर्दै एनपीएफ खेल्न उत्साहित रहेको बताएका छन् । करण केसी मार्की प्लेअर रहेको काठमाडौँको मुख्य प्रशिक्षकमा बसन्त शाही छन् ।