प्रधानमन्त्रीले भने-सुशासन सुटिङ गरेर देखाउने विषय होइन

प्रधानमन्त्रीले भने-सुशासन सुटिङ गरेर देखाउने विषय होइन


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानुनलाई गुरु मानेको बताएका छन् ।

सरकारको १०० दिनको अवसरमा बुधबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण र सुशासन एक छिनको हल्लाबाजी र सुटिङ गरेर देखाउने विषय नभएको बताए । उनले भने, ‘यसले सुशासनको प्रणालीका रूपमा गति लिनुपर्छ ।’

भ्रष्टाचारी समातियो भनेर केही समय हल्ला मच्चिने, तर परिणाम भ्रष्टाचार बढ्दै जाने होइन, परिणाममा भ्रष्टाचार नियन्त्रण हुने कानुनी प्रणाली स्थापित हुने पद्धति बसाल्ने सरकारको प्राथमिकता भएको उनले बताए ।

‘भ्रष्टाचारको कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा भ्रष्ट र भ्रष्टाचार मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्त्वहरू सक्रिय रहेको हामीले देखिरहेका छौँ’ उनले भने, ‘सरकारले विकास र सुशासनका लागि सही दिशामा काम अगाडि बढाएकाले भ्रष्टहरूको मोर्चा बन्नु बेग्लै कुरा हो ।’