अध्यादेश आए रोकिदिन राष्ट्रपतिसँग विपक्षी दलहरूको आग्रह

अध्यादेश आए रोकिदिन राष्ट्रपतिसँग विपक्षी दलहरूको आग्रह


दल विभाजनसम्बन्धी अध्यादेश जारी हुने त्रासमा रहेका विपक्षी दलका नेताहरुले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

अध्यादेश रोकिदिन माग गर्दै शीतल निवास पुगेका विपक्षी दलका नेताहरूलाई राष्ट्रपति पौडेलले भने आइहाले बोलाएर परामर्श गर्ने आश्वासन दिएका छन् ।

प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ कात्तिकमा विपक्षी दलहरूको बैठक बोलाएका थिए । त्यहाँ दलहरूले दल विभाजन सहज हुने गरी सरकारले अध्यादेश ल्याउन सक्ने आशंका व्यक्त गरेपछि सभामुख, प्रधानमन्त्री र राष्ट्रपतिलाई भेट्ने निर्णय गरेका थिए ।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकीकृत समाजवादी र आम जनता पार्टी गरी पाँच दलले सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराएका थिए । भेटमा नेताहरुले दल विभाजनलाई सहज बनाउने गरी अध्यादेश ल्याउन लागेको भन्दै असन्तुष्टि जनाएका थिए । प्रधानमन्त्री ओलीले अहिले कुनै दल फुटाएर एमालेमा मिलाउने आफ्नो योजना नरहेको जवाफ दिएका थिए ।

तर सत्ता घटक नेपाली काँग्रेसको साथ नपाएर मात्र ओली रोकिएको विपक्षीको बुझाइ छ । जुन दिन काँग्रेस सभापति शेरबहादुर देउवा तयार हुन्छन्, तत्क्षणमा दल विभाजनसम्बन्धी अध्यादेश आउने उनीहरूको विश्लेषण छ ।

राष्ट्रपति पौडेलसँग भएको भेटमा पनि विपक्षी दलका नेताहरुले सरकारले कुनै पनि बेला अध्यादेश ल्याउन सक्ने बताए । प्रधानमन्त्री ओली बाढी पहिरो प्रभावित जनताप्रति जबाफदेही नभएको र पूर्वाग्रही ढंगले काम गरिरहेको उनीहरूले बताएका छन् । काँग्रेस र एमालेले मुलुकलाई दुई पार्टी प्रणालीतर्फ लैजान लागेको भन्दै उनीहरूले यो लोकतन्त्रका लागि घातक हुने बताए ।

जवाफमा राष्ट्रपति पौडेलले भने संविधानले आफ्नो सीमा तोकेको स्मरण गराए । राष्ट्रपतिका सचिवालयले पनि विपक्षी दलका नेताहरुले वर्तमान परिस्थितिबारे जानकारी दिन आफूहरू आएको बताउँदै लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको बताएको छ ।

राष्ट्रपति पौडेलसँग भएको भेटमा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’, उपमहासचिव शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राप्रपाका बुद्धिमान तामाङ र हेमजंग गुरुङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी थिए ।