तीन महिनामा ५७ अर्बको इन्धन आयात, सबैभन्दा धेरै के भित्रियो ?

तीन महिनामा ५७ अर्बको इन्धन आयात, सबैभन्दा धेरै के भित्रियो ?


काठमाडौं । पछिल्लो ३ महिनाको अवधिमा नेपालमा ५७ अर्बको इन्धन आयात भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको अवधिमा ५७ अर्बको इन्धन नेपालमा आयात भएको हो ।

तथ्यांक अनुसार यसमध्ये सबैभन्दा बढी डिजेल २२ अर्ब १५ करोड ७० लाख ४३ हजार रुपैयाँबराबरको २ लाख ४५ हजार ६ सय ११ किलोलिटर आयात भएको छ ।

यस्तै १६ अर्ब ६२ करोड ८२ लाख ३९ हजार रुपैयाँबराबरको १ लाख ८७ हजार ८ सय ८७ किलोलिटर पेट्रोल र १४ अर्ब ६ करोड ४४ लाख रुपैयाँबराबरको १३ करोड ३ लाख ५ हजार ७ सय १७ किलोग्राम खाना पकाउने ग्यास आयात भएको छ ।

यसैगरी ४ अर्ब ५९ करोड ७९ लाख रुपैयाँबराबरको हवाई इन्धन आयात भएको छ । यसपछि दोश्रोमा विभिन्न प्रकारका फलामजन्य सामग्री आयात भएको छ ।

३ महिनाको अवधिमा १२ अर्ब १० करोड ७७ लाख रुपैयाँबराबरको २७ करोड ५ लाख ४ हजार किलो फलामजन्य सामग्री आयात भएको छ । त्यस्तै तेश्रोमा फ्लाट र रोल्ड आइरन तथा स्टिलको क्वाइल आयात भएको छ । ८ अर्ब ४९ करोड ३४ लाख रुपैयाँबराबरको १० करोड ६७ लाख ३१ हजार किलो आयात भएको छ ।

यसपछि विभिन्न प्रकारका खुद्रा औषधी ७ अर्ब ४७ लाख रुपैयाँबराबरको आयात भएको छ । त्यसैगरी ६ अर्ब ३५ लाख ७३ हजार रुपैयाँबराबरको विभिन्न प्रकारको मोबाइल फोन आयात भएको छ । ६ अर्ब ९ करोड ८१ लाख रुपैयाँ बराबरको कच्चा सनफ्लावर तेल र ३ अर्ब ८१ करोड ७६ लाख रुपैयाँबराबरको कच्चा सोयाविन तेल आयात भएको छ ।