सी जिनपिङ र मोदीबीच कजानमा भेटवार्ता

सी जिनपिङ र मोदीबीच कजानमा भेटवार्ता


काठमाडौँ – चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच रुसको कजानमा भेटवार्ता भएको छ ।

ब्रिक्स सम्मेलनका क्रममा दुई देशका नेताहरुबीच द्वीपक्षीय भेटवार्ता भएको हो । दुई नेताबीच करिव ५० मिनेट कुराकानी भएको थियो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको तस्बिर एक्समा पोष्ट गर्दै भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘‘दुई देशका नागरिकका साथै क्षेत्रीय र विश्व शान्तिका साथै स्थिरताका लागि भारत र चीनको सम्बन्ध महत्त्वपूर्ण छ । आपसी विश्वास, आदर र संवेदनशीलताले नै दुवै देशको द्वीपक्षीय सम्बन्धको बाटो देखाउने छ ।’

भारतीय विदेश मन्त्रालयका अनुसार भेटमा दुवै नेताले एलएसी अर्थात् दशगजा क्षेत्रबाट सैनिक हटाउने र २०२० मा सुरु भएको विवाद समाधान गर्ने सहमतिको स्वागत गरेका छन् ।

मोदीले दुवै देशको बीचमा रहेको विवाद र मतभेद हल गर्नुपर्नेमा जोड दिएका छन् ।

साथै सीमा विवादमा दुवै देशबीच विशेष प्रतिनिधिबारे समेत सहमति भएको छ, जसले सीमामा शान्ति कायम गर्न र पारस्परिक रूपमा स्वीकार्य समाधानको खोजी गर्ने छन् । दुई देशका विदेश मन्त्री स्तरीय सम्बन्धलाई पुनः अगाडि बढाउन पनि संवाद सुरु गरिनेछ ।

चिनियाँ विदेश मन्त्रालयले पनि दुवै देशको आपसी सम्पर्क र सहयोग बढाउने र असहमति तथा मतभेदलाई समझदारीका साथ सुल्झाउन दुई नेताले जोड दिएको बताएको छ ।