सेवाग्राहीको चाप बढेपछि बिहान ७ बजेदेखि राति ९ बजेसम्म सेवा दिँदै गुल्मी प्रशासन

सेवाग्राहीको चाप बढेपछि बिहान ७ बजेदेखि राति ९ बजेसम्म सेवा दिँदै गुल्मी प्रशासन


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय गुल्मीले दसैँपछि सेवाग्राहीको चाप बढेपछि बिहान ७ बजेदेखि राति ९ बजेसम्म सेवा दिन थालेको छ । दसैँ सकिएसँगै जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड बढेको हो ।

दसैँ-तिहार मनाउन गृह जिल्ला पुगेकाहरूले प्रशासन कार्यालयमा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन थालेपछि सेवाग्राहीको चाप बढेको गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिए ।

प्रजिअ शर्माका अनुसार दसैँ तिहार मनाउन घर पुगेकाहरूले त्यही मौका पारेर सरकारी कार्यालयबाट सेवा लिने भएकाले प्रशासन कार्यालयमा सेवाग्राहीको अत्यधिक चाप बढेको हो । सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै प्रशासनले टोकन प्रणाली लागु गरेर बिहान ७ बजेदेखि राति ९ बजेसम्म सवा दिइरहेको प्रजिअ शर्माले बताए ।

दसैँपछि दैनिक नयाँ नागरिकता १६०, प्रतिलिपि ७०, राहदानी सिफारिस १००, राहदानी वितरण ९३, राष्ट्रिय परिचयपत्र १५९ र राष्ट्रिय परिचय पत्र वितरण ९५ हुने गरेको गुल्मी प्रशासनले जनाएको छ ।