स्वास्थ्य बीमाको दायारा बढाउने र औषधिको मूल्य समायोजन गर्ने स्वास्थ्य मन्त्रीको दाबी

स्वास्थ्य बीमाको दायारा बढाउने र औषधिको मूल्य समायोजन गर्ने स्वास्थ्य मन्त्रीको दाबी


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको सीमा पाँच लाख रुपैयाँ पुर्‍याउने र औषधि मूल्य समायोजन गर्ने दुई विषयलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा राखेको दाबी गरेका छन् ।

बिहीबार आफ्नो १०० दिने कार्ययोजनाको उपलब्धि सार्वजनिकीकरण कार्यक्रममा १६ शीर्षकमा हासिल गरिएका उपलब्धिहरू प्रस्तुत गर्दै मन्त्री पौडेलले यी दुई विषयलाई विशेष जोड दिएका हुन् ।

‘स्वास्थ्य बीमा र औषधिको मूल्य समायोजनको विषय मेरो मुख्य प्राथमिकताका विषय हुन्,’ उनले भने ।

स्वास्थ्य बीमाको दायारा वृद्धि गर्ने विषयमा यसअघि नै चर्चा चलेको थियो । तर एक लाख रुपैयाँको हालको कार्यक्रम नै प्रभावकारी रूपमा सञ्चालन हुन नसकिरहेको अवस्थामा पाँच लाख रुपैयाँको घोषणा पत्यारलाग्दो नभएको भन्दै केहीले आलोचना गरेका थिए । यद्यपि मन्त्री पौडेलले यो घोषणा आफ्नै कार्यकालमा कार्यान्वयन गराएर छाड्ने दृढता व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सकारात्मक धारणा रहेको जानकारी दिँदै मन्त्री पौडेलले भने, ‘पाँच लाख बनाउने विषयमा पहिले नै मन्त्रालयका सचिव र अतिरिक्त सचिवहरूले मस्यौदा तयार गरिसक्नुभएको थियो। प्रधानमन्त्रीज्यूले केही विषय छुट्न सक्ने भएकाले विस्तृत अध्ययन गर्न सुझाव दिनुभएको छ ।’

हाल डा. शम्भु आचार्यको संयोजकत्वमा गठित समितिले स्वास्थ्य बीमाको सीमा पाँच लाख पुर्‍याउने लगायतका विषयमा विस्तृत अध्ययन गरी राय सुझाव दिने जानकारी मन्त्री पौडेलले दिए ।

औषधि मूल्य समायोजनको गर्ने मन्त्री पौडेलले बताए । ‘मूल्य समायोजन हुन्छ र सबै औषधिको मूल्य घट्छ । यो मेरो दाबी हो,’ उनले भने ।

यस विषयमा पनि काम अघि बढिसकेको र आफ्नै कार्यकालमा कार्यान्वयनमा आउने उनको दाबी छ ।

स्वास्थ्य क्षेत्रमा आफू मन्त्री भएपछि केही सकारात्मक परिवर्तनहरू भएको पनि मन्त्री पौडेलले बताए । ‘एकदमै भइसक्यो भन्न चाहन्न तर अस्पतालको सेवामा केही न केही परिवर्तन भएको छ,’ उनले भने ।