जुम्लामा स्याउ बेचेर ६१ करोड रुपैयाँ भित्रियो

जुम्लामा स्याउ बेचेर ६१ करोड रुपैयाँ भित्रियो


काठमाडौँ । जुम्लाले यो वर्ष ६१ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको स्याउ बेचेको छ । यस वर्ष जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार ६१ करोड  ४१ लाख ५ हजार रुपैयाँ मूल्यबराबरको स्याउ जुम्लाले बेचेको हो ।तथ्यांकअनुसार कुल ४ हजार २ सय ५० हेक्टर क्षेत्रफल जमिनमा रोपिएका स्याउबाट २० हजार ५ सय ११ मेट्रिकटन ४६ क्विन्टल स्याउ उत्पादन भएको थियो । जसमध्ये ९ हजार ३ सय ९१ मेट्रिकटन स्याउ जिल्लाबाहिर निर्यात भएको थियो ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार ट्रक, बस, जिप तथा हाइस र जहाजबाट जुम्ली स्याउ निर्यात भएको थियो । बगैँचामै जुम्ली किसानले प्रतिकेजी सरदर मूल्य ६५ रुपैयाँमा स्याउ बेचेका थिए ।

बसबाट एक हजार ६ सय ६० मेट्रिकटन, जीप र हाइसबाट ६६४ मेट्रिकटन र जहाजबाट ७४ मेट्रिकटन स्याउ निर्यात भएको हो । मालवाहक ट्रकबाट ६ हजार ९ सय ९३ मेट्रिकटन स्याउ निर्यात भएको थियो । साउनको ४ दिन,भदौको ३१ दिन,असोजको ३० दिन र कात्तिकको १८ दिन गरेर जुम्ली स्याउ ८३ दिन सम्म निर्यात भएको थियो । ८ सय ३७ जना व्यापारीले किसानको स्याउ बजारमा लगेको बताइएको छ ।

जुम्लामा गत वर्षको तुलनामा स्याउको उत्पादन कम भए पनि मूल्य बढ्दा स्याउको कारोबार बढेको हो । निर्यात हुने जुम्ली स्याउको तथ्यांक संकलनका लागि नाग्म प्रहरी चौकीमा रेकर्ड फाइल तयार गरेर प्रहरी चौकीलाई दिइएको थियो । फाइलमा स्याउ निर्यात गर्ने व्यापारी र नम्बरसमेत उल्लेख थियो ।