काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले खबरदारी सभा गर्दा नै सरकार थुरथुर काँपेको टिप्पणी गरेका छन् ।
काठमाडौंको प्रदर्शनी मार्गमा जारी खबरदारी सभा सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार माओवादीको प्रदर्शनले थुरथुर काँपेको टिप्पणी गरेका हुन् ।
‘सामान्य खबरदारी सभा गर्दा यो सरकार थुरथुर काँपीरहेको छ । उसले आफ्नो अवसान देख्न सुरु गर्यो । त्येही भएर सभामाथि यत्रो प्रश्न उठाएर सडकबाट सरकार बदल्ने कुरा नगर्नु भनिरहेको छ,’ सचिव शाक्यले भने ।
उनले माओवादीको शनिबारको खबरदारी सभा सरकार परिवर्तन गर्ने अभियान नभएकोसमेत दाबी गरे । ‘यो कुनै सरकार बदल्ने अभियान पनि होइन । आन्दोलन पनि होइन,’ शाक्यले भने, ‘यो सामान्य खबरदारी सभा हो ।’
उनले ओली नेतृत्वको सरकार भ्रष्टाचारीको रक्षाका निम्ति गठन भएको आरोप पनि लगाए ।
‘यो सरकार भ्रष्टाचारको रक्षाका निम्ति आएको हो । यो षडयन्त्रको निम्ति आएको हो,’ उनले भने ।
प्रतिक्रिया