काभ्रेपलाञ्चोक– गत असोज दोस्रो साताको बाढीपहिराेले विभिन्न क्षेत्रमा एक अर्ब बराबरको क्षति पुर्याएपछि धुलिखेल नगरपालिकाले सरकारसँग ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेको छ ।
आइतबार नगरप्रमुखसहित जनप्रतिनिधिले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकसँग भेट गरी ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेका हुन् । नगरप्रमुख अशोक ब्याञ्जूसहितको टोलीले करिब एक अर्बको बराबरको क्षति भएपछि नगरलाई क्षतिग्रस्त पालिका घोषणा गर्न ध्यानाकर्षण गराउन उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई आइतबार ज्ञापनपत्र बुझाइएको हो ।
सरकारले असोज अन्तिमसाता काभ्रेका १३ मध्ये धुलिखेल र बनेपा नगरबाहेक ११ स्थानीय तहलाई सङ्कटग्रस्त स्थानीय तह घोषणा गरेको थियो । नगरप्रमुख ब्याञ्जूले धुलिखेलको अवस्था र विपदपछि पुनर्निर्माण एवं पुनर्वासका लागि सरकारले खेल्नुपर्ने भूमिकाकाबारे उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई जानकारी गराएको बताए । उनका अनुसार ध्यानाकर्षणपत्रमा धुलिखेलको ठकुरीगाउँ, भ्याण्डोल तथा इटोलको फोहोर पानी प्रशोधन केन्द्रसमेतको पुनर्निर्माणका लागि ध्यानाकर्षण गराइएको छ ।
नगर प्रमुख ब्याञ्जूले धुलिखेल खानेपानी, काभ्रे एकीकृत खानेपानी, सडक, विद्यालय तथा अन्य संरचनाको क्षतिमासमेत सरकारको सहजीकरणका लागि ध्यानाकर्षण गराइएको बताए । उनले गृहमन्त्री लेखकलाई विभिन्न क्षेत्रको पूर्वाधारसहित निजी आवाससमेत गरी करिब एक अर्ब बराबरको भएको प्रारम्भिक तथ्याङ्क विवरण बुझाइएको नगर प्रमुख ब्याञ्जूले बताए । नगर कार्यालयका अनुसार बाढीपहिराले धुलिखेल नगरको वडा नम्बर १, २, ३, ४, ८, ९, १०, ११ र १२ मा बर्सातका कारण धेरै क्षति भएको छ भने ८ र ११ नम्बर वडामा दुई नागरिकले ज्यानसमेत गुमाएका छन् ।
प्रतिक्रिया